• ३० वैशाख २०८२, मङ्गलबार

‘भ्रष्टाचारका थप फाइल खुल्छन्’

blog

वीरेन्द्र ओली 

काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफू र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच उच्चस्तरको समझदारी भएकाले भ्रष्टाचारविरोधी अभियान नरोकिने प्रस्ट पार्नुभयो।

सरकारले केही दिनभित्र ठुला खालका भ्रष्टाचारका फाइल खोल्ने तयारी गरेकाले त्यसले झन् ठुलो तरङ्ग ल्याउने प्रचण्डले उल्लेख गर्नुभएको पार्टी केन्द्रीय सदस्य विशाल खड्काले बताउनुभयो। “वरिष्ठ उपाध्यक्ष र मेराबिच हाई लेभलको समझदारी छ। हामीलाई हटाउन सक्छन्। हामीले सरकार छाड्नुपर्ने हुन सक्छ। सरकार छाड्दा पनि भ्रष्टाचारविरुद्धको आन्दोलन रोकिँदैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्काले भन्नुभयो, “बरु अझ ठुला खालका भ्रष्टाचारका फाइल खुल्दै जाने छन्। त्यसको तरङ्ग झन् ठुलो हुनेवाला छ। हामीलाई हटाउन खोज्ने आफैँ कमजोर हुने छन्। जसले सरकार फाल्ने कोसिस गर्छ तिनै भ्रष्टाचारी साबित हुने छन्।” 

प्रधानमन्त्री प्रचण्डले सरकारलाई भ्रष्टाचारविरोधी अभियानबाट पन्छिने छुट नभएको उल्लेख गरेको खड्काले बताउनुभयो। “हामीलाई भ्रष्टाचारविरोधी अभियानबाट पन्छिने छुट छैन। हामी ब्याक भयौँ भने जनताले हामीलाई छाड्दैनन्, उल्टै हामी सिद्धिन्छौँ। हामीलाई हटाउन लागे भने उल्टै उनीहरू सिद्धिन्छन्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्काले भन्नुभयो, “कांग्रेसले पाँचै वर्ष गठबन्धन जोगाउने भनेर संस्थागत निर्णय गरिसक्यो। हामीले यसरी नै निर्णय गरेर जानु पर्छ।”

पार्टी स्थायी समिति सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डको भनाइ उल्लेख गर्दै गठबन्धन सरकार पाँचै वर्ष जाने सुनिश्चितता भएको प्रस्ट पार्नुभयो। “सरकार रहन्छ कि रहँदैन भन्ने चिन्ता लिएर काम गर्ने होइन। राम्रो काम गर्दै गएमा सरकार ढल्दैन,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “अहिले पनि विभिन्न खाले षड्यन्त्र भइराखेका छन्। समाजवादी मोर्चा निर्माण हुँदै कांग्रेस बैठकसम्म आउँदा पाँच वर्ष गठबन्धन जाने सुनिश्चित भएको छ।” प्रधानमन्त्री प्रचण्डले सरकारमा दुई दिन बसे पनि राम्रो काम गरेर बाहिरनुपर्ने उल्लेख गरेको शर्माले बताउनुभयो।

केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकार निर्माण भएपछि जनतामा आशा र अपेक्षा धेरै पलाएको बताउनुभयो। उहाँले सरकारले अघि सारेका कार्यक्रम, पहलकदमी र गतिविधिबाट जनतामा आशा जागेको उल्लेख गर्नुभयो। जनतामा जागेको आशा र अपेक्षा सङ्गठन निर्माणमा रूपान्तरण गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। सङ्घीय शिक्षा ऐन, प्रहरी ऐन र निजामती ऐन छिट्टै ल्याइने उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी हुँदै ललिता निवास, मिटरब्याजपीडितको पक्षमा कानुन निर्माण, नागरिकता विधेयक जस्ता कामले जनतामा आशा पलाएको बताउनुभयो। जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने, सहिद र बेपत्तालाई सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उहाँले प्रस्ट पार्नुभयो। 

उहाँले विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनेदेखि समयमै किसानलाई मल उपलब्ध गराउँदा जनताले सरकार भएको अनुभूति गर्न थालेको उल्लेख गर्नुभयो। देशैभरका १२२ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरूप्रति भने असन्तुष्टि पोख्नुभएको छ। पार्टी नेताहरूमा आत्मकेन्द्रित व्यक्तिवाद, अपारदर्शी जीवनशैली, अनुशासनहीनता, अध्ययनप्रति अरुचि रहेको उल्लेख गर्नुभयो। पार्टी नेताकै कारण जनताबाट पार्टी टाढिँदै गएकाले पु्लको रूपमा काम गर्न उहाँले निर्देशन दिनुभयो।

माओवादीले भदौदेखि तीनमहिने पार्टी अभियान चलाउने एजेन्डाका रूपमा प्रस्तुत गरेको छ। पार्टीलाई उत्पादन र जनसेवामा केन्द्रित गर्दै पालिकासम्म सङ्गठन विस्तारमा लाग्ने तयारी गरिएको छ। पार्टीको तीनमहिने अभियान पूरा भएपछि मङ्सिरमा विधान सम्मेलन गर्ने तयारी गरिएको छ। विधान सम्मेलनबाट पार्टी थप सुदृढ हुने विश्वास लिएको छ। विधान सम्मेलनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव छ। माओवादीले विचार मिल्नेसँग एकता गरेर जाने र त्यसो नभएमा मोर्चा बनाएर जाने योजना अघि सारेको छ। अब पार्टी एकता गर्दा सङ्गठनको स्वरूप नबिग्रने गरी गरिने प्रचण्डले प्रस्ट पार्नुभएको छ। 

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १८ जनाले आफ्नो धारणा राखेका छन्। जसमा अमर तमु, कृष्ण केसी, लक्ष्मणदत्त पन्त, हिमाल शर्मा, ओम शर्मा, रामकुमारी चौधरी, सचिन रोका, जितबहादुर चौधरी, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, मानसिंह माल, रवीन्द्र श्रेष्ठ, धनजित शाही, पुष्पविक्रम मल्ल, टीका बुढाथोकी, लोकेन्द्र लम्साल, लक्ष्यराम आचार्य र विशेषन्द्र चेमजोङ छन्। 

बैठकमा बोल्ने अधिकांश नेताले सङ्गठन बिग्रदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लागिपरेकाले पार्टी नेता तथा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिएका छन्। सरकारले गरेका राम्रा काम जनतासमक्ष लग्नुपर्ने अधिकांश केन्द्रीय सदस्यले धारणा राखेका छन्।