• १३ साउन २०८१, आइतबार

दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाइँ

blog

खेतमा धान रोपाइको काम गर्दै कृषकहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, साउन ११ गते । दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो । 

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म ४७ प्रतिशत खेतमा मात्रै धान रोपाइ सम्पन्न भएको छ । अझ ५३ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन । सिँचाइको सुविधा नहुँदा जिल्लाका अधिकांश ठाउँ रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार ढिलागरी सुरु भएको वर्षाका कारणले रोपाइँमा समेत ढिलाइ भएको छ । उहाँले भन्नुभयो, ‘असारको पहिलो हप्तादेखि वर्षा सुरु भए पनि जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा हुन सकेको छैन । जस्लेगर्दा ब्याड तयार भए पनि रोपाइँ हुन सकेको छैन ।’ 

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा खेतीयोग्य जमिन ३९ हजार ४ सय हेक्टरमध्ये हालसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले कमी हो । गतवर्ष साउनको पहिलो सातासम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।  

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा धान रोपाइँ करिब सकिए पनि दाङ उपत्यकाको घोराही, तुलसीपुरसँगै दंगीशरण, शान्तिनगर लगायतका क्षेत्रमा अधिकांश ठाउँमा खेत बाँझै रहेको छ । 

सिँचाइको सुविधा हुने ठाउँहरूमा किसानले रोपाइँ गरे पनि आकाशे पानीको भरमा खेती हुने अधिकांश ठाउँ बाँझै रहन पुगेको सूचना अधिकारी लामिछानेले बताउनुभयो । 

सिँचाइ सुविधा हुने देउखुरीलगायत घोराही केही वडामा धान खेती सकिएको भन्दै कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो, ‘अहिलेसम्म ४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । वर्षा समयमै नहुँदा रोपाइँमा ढिलाइ भएको छ ।’ 

समयमा पानी पर्दा जिल्लामा असारको महिनामै करिब रोपाइँ सकिने गरेको थियो । ढिला रोपाइँ भए पनि यसले उत्पादनमा धेरै असर नगर्ने सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो । उहाँका अनुसार जिल्लाको ३९ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको छ ।