• १३ साउन २०८१, आइतबार

वन कार्यालय बाँकेमा साढे ४ लाख बिरुवा उत्पादन

blog

डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा उत्पादन भएका विरुवा । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन १० गते । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रजातिका साढे ४ लाख बिरुवा उत्पादन गरेको जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक वन डिभिजनल अधिकृत गणेश खड्काले गत आर्थिक वर्षमा विभिन्न प्रजातिका चार लाख ७४ हजार ७ सय ४ गोटा बिरुवा उत्पादन गरेको बताउनुभयो । एक वर्षीय बिरुवा उत्पादनमा तीन लाख ५९ हजार १ सय ८६ र बहुवर्षीय विरुवा उत्पादनमा एक लाख १५ हजार ५ सय १८ गरी कुल चार लाख ७४ हजार ७ सय ४ बिरुवा उत्पादन गरिएको उहाँले जनाउनुभयो ।

एक वर्षीय बिरुवा उत्पादन अन्तर्गत सावगन, मसला, बकाइनो, इपिल इपिल, सतिसाल, जामुन, बबुर, अस्ना, निम, गोल्डमोहर, मौवा, अमला, सितलचिनी, खयर, गुलमोहर, सिरिष, सिसौ, कदम, बर्रो, रिठा, धुपी, किम्बु, अम्बा, लप्सी, श्रीखण्ड, स्वामी, कपुर, खम्हारी, कोइरालो, झिङ्गट, सेतो सिरिस, काभ्रोको विरुवा र बहुवर्षीय उत्पादन अन्तर्गत अमला, छतिवन, जामुन, निम, पारिजात, बर्रौ, बेल, मयुर पंखि, मौवा, विजयसाल, सागवन, सिरिष, पानन, काभ्रो, कटहर, पारिजात, कागती, करौदा, श्रीखण्ड, श्वेतचन्दन, जाकरान्डा फूल ब्लु, रातो गुलमोहर, पहेंलो गुलमोहर, कनकचम्पा फूल, राजवृक्ष लगायतका बिरुवा उत्पादन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार एक वर्षीय बिरुवा उत्पादन अन्तर्गत डिभिजन वन कार्यालयको नर्सरीमा एक लाख २१ हजार ५ सय ३५, नेपालगञ्ज सब–डिभिजन वन कार्यालयमा २० हजार २ सय, कोहलपुर सव-डिभिजन वन कार्यालयमा ३५ हजार ४ सय ५४, सिक्टा सव–डिभिजन वन कार्यालयमा २१ हजार ४ सय, शमसेरगञ्ज सब–डिभिजन वन कार्यालयमा २५ हजार १०, नरैनापुर सब-डिभिजन वन कार्यालयमा ३१ हजार, राप्ती सब–डिभिजन वन कार्यालयमा ५० हजार १ सय गरी जम्मा तीन लाख ५९ हजार १ सय ८६ विरुवा उत्पादन गरिएको हो ।

त्यसैगरी, बहुवर्षीय बिरुवा उत्पादन अन्तर्गत डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार ४ सय ४६, शमसेरगञ्ज सव–डिभिजन वन कार्यालयमा २५ हजार ७२ र राप्ती सब–डिभिजन वन कार्यालयमा २० हजार गरी जम्मा एक लाख १५ हजार ५ सय १८ बिरुवा उत्पादन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

उत्पादन भएका बिरुवाहरु आवश्यकता अनुसार किसानलाई निःशुल्क रुपमा वितरण गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सूचना अधिकारी खड्काका अनुसार डिभिजन वन कार्यालय र जिल्लाका सबै सब–डिभिजन वन कार्यालयबाट किसानहरुलाई निःशुल्क रुपमा बिरुवा वितरण भइरहेको छ ।

किसानहरुलाई निःशुल्क रुपमा बिरुवा वितरण गर्नका लागि सरकारले विरुवा उत्पादनमा बर्षेनि लाखौं रुपियाँ लगानी गरेपनि किसानले लगेर लगाएका बिरुवाहरुको अवस्था के कस्तो छ भनेर वन कार्यालयबाट अनुगमन नहुँदा भने सरकारको ठुलो लगानीको प्रतिफल कस्तो छ भन्ने जानकारी सम्बन्धित निकायसँग छैन ।