• ८ जेठ २०८१, मङ्गलबार

कोशी सरकार गठनको विवाद सर्वोच्चको पूर्ण इजलासमा पठाउन आदेश

blog

काठमाडौं, साउन ८ गते । कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।

गत असार २२ गते नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले पेस गर्नुभएको रिट निवेदनमाथि आज सुनुवाइ गर्नुहुँदै न्यायाधीशद्वय माथेमा र श्रेष्ठले उक्त मुद्दा अब सर्वोच्चको पूर्ण इजलासबाट निराकरण गरिने बताउनुभएको हो ।

साउन ९ गतेदेखि नै सर्वोच्चको पूर्ण इजलासले उक्त रिट निवेदनमाथि सुनुवाइ गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८०/४/९ गते पूर्ण इजलासमा पेस हुनेमा पेशी तोकी नियम बमोजिम पेस गर्नू ।’’

कोशी प्रेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्नुभएको हो ।