• ९ मंसिर २०८१, आइतबार

रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु

blog

फाइल तस्बिर

रमेश विश्वकर्मा

गुल्मी, साउन ८ गते । गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले ब्राह्मणलाई यज्ञ सञ्चालनका लागि वरण गर्दै स्वस्ति वाचनसहित पूर्वाङ्ग गरिएको र विष्णुपुराणको केही अंश तथा पुरुषोत्तम मासको  अंश प्रवचनसहितको कार्यक्रम गरिएको बताउनुभयो ।

‘यसअघिका भागवत तथा कथा प्रवचनहरु हेर्न र सुन्नका लागि हुन्थे’ अध्यक्ष भुसालले भन्नुभयो, ‘यसपटकको कथा सुन्न र ग्रहण गर्नका लागि हो ।’ पुरुषोत्तम माहात्म्य तथा विष्णुपुराण श्रवणका लागि अध्यक्ष भुसालले आह्वान गर्नुभयो ।

कथा श्रवण गर्ने भत्तजनका लागि निःशुल्क भोजनको व्यवस्था मिलाइएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ । सहज र सुलभ यातायात सञ्चालन गरी साउन महिनाभर सहयोग गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात समितिलाई आग्रह गरिएको छ ।

बिहान ७ बजेदेखि पाठपारायण तथा मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म नृत्यरहित कथा प्रवचन हुने समितिले जनाएको छ ।