• ९ जेठ २०८१, बुधबार

थाली नृत्यमा रमाउँदै विद्यार्थी

blog

काठमाडौँ, साउन ८ गते । लैनचौरस्थित शान्ति विद्यागृहले आफ्ना विद्यालयका छात्र/छात्रालाई ‘थाली नृत्य’ को प्रशिक्षण दिन थालेको छ । मगर समुदायमा विभिन्न चाडपर्व, मेलामा  दुई हातमा थाल लिएर गरिने मौलिक नृत्यको समूह तयार गर्ने लक्ष्यले विद्यालयले यस्तो नृत्यको प्रशिक्षण दिन थालेको हो । 

विद्यालयकी प्रधान अध्यापिका शिवकुमारी घिमिरेले लोकबाजा सङ्ग्रहालयको संयोजनमा प्रशिक्षक दिलकुमारी रामजाली गरबुजाले छात्र/छात्रालाई थाली नृत्यको प्रशिक्षण दिइरहनुभएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा हरेक शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने नियम बनाएपछि कक्षा ५ देखि ९ सम्मका छात्र/छात्रालाई नृत्य, अभिनय, साधारण सिलाइ/बुनाइ, खेलकुद र हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

म्याग्दी मगर सङ्घका अध्यक्षसमेत रहनुभएका थाली नृत्य प्रशिक्षक दिलकुमारी रामजाली गरबुजाले भन्नुभयो, “विशेष गरी मनोरञ्जनका लागि नौमती 

बाजा र विभिन्न गीतमा नृत्य गर्न सकिने थाली नाच मगर समुदायमा प्रचलित मौलिक नृत्य हो, समूहमा गरिने यो नृत्य शैली करिब लोपोन्मुख छ, यस्ता तालिमले नृत्यको प्रवर्धनमा सहयोग पुग्छ ।  नृत्यका लागि नयाँ समूह पनि तयार हुन्छ ।”

नौलो नाच भएकाले विद्यार्थी निकै रमाइलो मानेर प्रशिक्षणमा सहभागी भएको उहँको भनाइ छ । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने लक्ष्यले साताको एक दिन शुक्रबार  छुट्याउनु निक्कै सराहनीय कार्य भएको बताउनुभयो । यही अवसरको सदुपयोग गर्दै मौलिक नृत्य सिकाउन आफूले संयोजन गरेको बताउनुभयो ।