ललिता साह
वोदेवर्साइन (सप्तरी), साउन ७ गते । सप्तरीमा मिटरब्याजी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरेर प्रक्रिया थालेपछि मिलापत्र प्रक्रियामा आउनेको सङ्ख्या बढेको छ । मिटरब्याज पीडितको तर्फबाट अनलाइनमा समेत दर्ता भएको सप्तरीमा एक हजार सात सय ७९ उजुरी परेको प्रशासनले जनाएको छ ।
हालसम्म २२ मुद्दामा मिलापत्र, ३६ मा सहमति र दुईसय उजुरीमाथि छलफल थालेको प्रशासन प्रतिनिधिहरूको भनाइ छ । दैनिक दुईदेखि चार वटासम्मको उजुरी छिनोफानो हुँदैआएको सो कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गत गठित उपसमितिको सहजीकरणमा दैनिकजसो आधा दर्जनजति उजुरीमाथि छलफल गरी मिलापत्र गराउँदैआएको उपसमितिका संयोजक सञ्जय रामले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गत मिटरब्याजी समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्य सहजताका लागि उक्त समिति मातहत नै छलफल गराउन कर्मचारी सञ्जय रामको संयोजकत्वमा उपसमिति गठन गरी दैनिक रूपमा छलफल अघि बढाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।