• ३० वैशाख २०८२, मङ्गलबार

भ्रातृ संस्थाको गठनमा सन्तुलन कायम गरियोस् : सहमहामन्त्री जीवन परियार

blog

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार । फाइल तस्बिर

काठमाडौं, साउन ७ गते । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्था गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । 

उहाँले अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरूसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरे पनि नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, आदिवासी जनजाति महासङ्घ र किसान महासङ्घ बनाउँदा संस्थापनले एकपक्षीय रूपमा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समूहको सन्तुलन कायम गर्न अनुरोध गर्नुभयो ।

परियारले भन्नुभयो – ‘‘केन्द्रीय समितिको बैठकमा आएका कुराहरू मान्ने हो भने, यदि कुरा सत्य हो त हामीले पार्टीका सबै संयन्त्र ठिकठाक छन् त ? त्यो पनि भनौँ । अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने त्यो पनि भनौँ । पार्टीको सुधार गर्न, बहस गर्न, छलफल हुन हुँदैन भने त्यो पनि भनौँ । पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्नसक्छौँ त ? विचारणीय छ । भ्रातृ संस्थाको अवस्था के छ ? कति समय भयो पूर्णता नपाएको ? जनसम्पर्क समितिको अवस्था के छ ? विभाग गठन किन हुन सकिरहेको छैन ? कार्यसमितिको पूर्णता किन हुन सकिरहेको छैन ?’’

सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरूसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, आदिवासी जनजाति महासङ्घ, किसान महासङ्घ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ । तसर्थ गठन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूका बारेमा सन्तुलन कायम गरियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’’

नेता परियारले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगे पनि पार्टीलाई कुनै फाइदा नपुगेको बताउनु भयो । उहाँले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरूको कुरा सुन्ने रुचिमा ह्रास आउँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज बैठकको लाइभ गरेर हामीले हाम्रा कुरा सुनिरहेका छौँ । फेसबुक लाइकको भ्युअर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो छ । दिनप्रतिदिन फेसबुक लाइभ हेर्नेको सङ्ख्या घटेको छ । यसबाट आम समुदायलाई हाम्रो कुरा सुन्ने रुचिमा ह्रास हुँदै गएको देखाउँछ । यस तथ्यलाई हृदयङ्गम गरुम् । अब हाम्रा कार्यक्रम आफ्ना कुरा सुनाउने भन्दा पनि आम जनताको कुरा सुन्ने र तिनको सम्बोधन गर्नेतर्फ लक्षित गरौँ । यो लाइभले व्यक्तिलाई फाइदा पुग्छ । तर सिङ्गो पार्टीलाई कुनै फाइदा पुगेको छैन । म र मजस्ता लाखौँको प्रश्न छ । यो फेसबुक लाइभले हामी केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई परिचित गराउने काम गर्‍यो । यो पक्ष सकारात्मक हुनसक्छ ।’’