पाण्डवहरू खेचरादी पर्वत (खप्तड क्षेत्रको पौराणिक नाम) हुँदै स्वर्ग गएका थिए रे । हुम्लाका सहयात्री बलराम शाहीले बीचपानी नपुग्दैै भनेका थिए, “भीमघट्टमा घट्ट घुमे जस्तो आवाज आइरहन्छ भनिन्छ ।” भीमले त्यहाँ घट्ट बनाएका थिए त ? यसको सत्यता जाँच्न त शास्त्रीय अनुसन्धान गर्नै पर्ला । डोटीको झिग्रानाबाट उकालो लाग्दा यात्रामा निकै नै साथ दिएका शाहीले मलाई उकालोमा धेरै जीवनदृष्टिहरू खोज्न बाध्य बनाए ।
रोमाञ्चित मनसँगै नाक ठोकिने उकालोको वर्णन अझै स्निग्ध होला । दिपायलबाट करिब एक घण्टा गाडीको यात्रापछि झिग्रानाबाट पैदल यात्रा सुरु भयो । सुदूरपश्चिमेली मित्र किरण जोशी मेरो यस यात्रामा हौसला दिइरहने व्यक्ति हुन् । उकालो यात्राको अनुमान गरिदिने र खप्तडमा रम्ने क्षेत्रहरूका बारेमा मिहिन ढङ्गले पहिलो पटक बताइदिने उनका केही दृष्टान्त मननीय छ, “खप्तडको सौन्दर्यको बयान गर्न कसरी सकिन्छ ?” यात्राभरि मेरो मनको एक मात्र प्रश्न यही रह्यो– उकालो बाटोको वर्णन कसरी गरूँ ? सायद पाँच पाण्डवहरू यही बाटो उक्लिएका भए भीमलाई कसैले भेट्न सकेनन् होला । नहकुल र सहदेवलाई त मलाई जतिकै सकस प¥यो होला कि ? ऋषिमुनि जस्ता देखिने रुखको इतिहास कसलाई थाहा छ ? ऊ बेलाका रुख आजसम्म बाँचेका हुन् कि केही सय वर्षअघि उम्रिएका हुन् ? बाटामा भेटिएका यी अमृतमय जरुवाका पानी पाण्डवहरूले पनि पिएका थिए ?
फुल्दै गरेका जडीबुटीहरूको वर्णन कसरी गरौँ ? हनुमानले बोकेको मन्दराचल पर्वतमा पनि यस्तै जडीबुटी त थिए, जसले योद्धाको मृत शरीरलाई आत्मा भरिदियो । चार सय वर्ष लामो आयु बाँच्ने ऋषिमुनिहरूले यिनै जडीबुटीका छेउमा तपस्या गरेका थिए कि ! इतिहासको के कुरा गर्नु ? खप्तड बाबा नै ११६ वर्ष बाँचेका थिए, जुन हाम्रो आजको औसत आयुभन्दा झन्डै दोब्बर हो । खप्तडका जडीबुटीको सुगन्ध नै हाम्रा लागि अमृत हो । हैन भने काठमाडाैँको वायु र यहाँको वायुको शुद्धता तुलना गरेर हेरौँ, आफैँ थाहा हुन्छ ।
झिग्रानाबाट उकालो लाग्ने बेला एउटा लट्ठी हातमा थमाउँदै दाङका सुशील रेग्मीले भनेका थिए, “बीचपानीसम्म मात्र तपाईंको कष्ट हो, त्यसपछि त पूरै तेर्सो बाटो आउँछ । बीचपानीमा त्यही कुरा सम्झेर मन रोमाञ्चित भयो । चाउचाउको झोल पिएर हामी पुनः यात्रा सुरु गर्दा खुट्टा अघि सर्न मानिरहेको भने थिएन ।
सकस खुट्टामा मात्र केन्द्रित थियो, मन अत्यन्त प्रफुल्लित थियो । तेर्सो, उकालो र ओराला बाटाहरूले हाम्रो यात्रालाई डो¥याइरहेको थियो । उकालो हिँडुन्जेल खासै गुनासो थिएन, तेर्सो सकिएर आउने उकालोसँग भने रिस उठ्न थाल्यो । यद्यपि उकालोपछि आउने ओरालोमा निकै खुसी थियो । आखिर जीवन पनि यसरी नै खुसीहरू सँगाल्छ । दुःखहरू एक हदसम्म सकिएपछि आउने सहजताले जीवनलाई आह्लादित बनाउँछ ।
निकै थकानसहितको हिँडाइपछि चौरहरू देखिए, पाटन र थुम्काका विम्ब आँखा हुँदै मनभित्र घुस्यो । मैले ‘आहा’ भनेर चिच्याएँ । बलरामले भने, “बुकी दह केही हैन, यो अत्यन्त सानो हो ।” नभन्दै एकै छिन लागेको बादल हटे जसरी बुकी दह सकिएर जङ्गल सुरु भयो । चार पाउ टेक्नु जसरी थाकिसकिएको थियो ।
पहाडहरूसँगको मेरो सामीप्यता र प्रेम अत्यन्त गहिरो छ । पहाडहरूसँग मन लुकाउने ठाउँ भेटिन्छ । एउटा पहाड सकिन्छ, अर्को पहाड सुरु हुन्छ । क्षितिजतिर हेर्दा पहाडहरू खप्टिएको जस्तो देखिन्छ । पहाडले जीवनका दुःख र सुखका विम्बहरू बोके जस्तो लाग्छ, जसरी अघि उकालो र ओरालोका बुझाइहरू थिए । पहाड उक्लँदा थाकेको मन अर्को पहाडका लागि ओरालो झर्दा प्रफुल्लित हुन्छ । भविष्यको अर्को पहाडको उकालो पनि अघिल्तिर नै देखिइरहेको हुन्छ । यसैबाट अनुभूत हुन्छ, अर्जुनलाई श्रीकृष्णले सम्झाएका तत्व ज्ञान ‘कर्मण्ये वाधिकारस्ते ... ।’ आजको यात्रा खप्तडको केन्द्रमा टुङ्गियो । धनगढीबाट उकालो लाग्दा नेपाली सेनाका कर्नेल दीपक खड्काले भनेका थिए, “जहाँ पुग्दा तपाईंले स्विट्जरल्यान्ड जस्तो देख्नुहुन्छ, त्यहीँ नै हाम्रो गुल्म छ ।” मलाई स्विट्जरल्यान्ड के थाहा ? जङ्गलको बाटो सकिनेबित्तिकै देखिएका फाँटहरू आफैँमा अनुपम थिए ।
पाटनका भित्ताहरूमा फुलेका गुराँसका पर्खालहरू आफैँमा सुरम्य देखिन्छन् । भुइँका बुकीफूलका हारहरू त्यसमाथि एकहार सेतागुराँस र त्यसभन्दा माथि घना जङ्गल दुई पाटनबिचको सिमाना हो । त्यहाँका जडीबुटी र विभिन्न प्रजातिका वनफूलका सुगन्धहरूको मिश्रणको अनुपम अमृत एकै ठाउँमा नहल्लीकन बसेर पान गरिरहुँ जस्तो लाग्ने रहेछ । एक किसिमको मन्द सुगन्ध फैलिरहेको जस्तो लाग्ने, कतै कस्तुरी आफ्नै अघि हिँडिरहेको छ कि जस्तो ।
झोला बिसाउँदा खुट्टाहरू काँपिरहेका जस्ता लाग्थे । तातोपानी पिएर बाहिर निस्कने सोच थियो तर साँझ परिसकेछ । स्यालका आवाजहरू तिखा थिए । झन्डै बाह्र÷पन्ध्र वर्ष भएछ स्याल र फ्याउरोको आवाज नसुनेको । बाहिर निस्केर यताउता हेर्दा स्यालहरू थिएनन् । सेताम्मे फुल्दै गरेका बुकीफूलमाथि अडिएको पानीको थोपाहरूबाट परावर्तित शुक्लपक्षको जूनको किरणले कुनै चम्किलो तन्ना लमतन्न ओछ्याए जस्तो देखियो । अग्ला तर सुकेका रुखका छायाहरू अमूर्त आकारमा, कतै मानव आकारमा लडिरहेका जस्तो । भोलिपल्ट बिहानैको यात्रामा दीपक जोशी भेटिए । वृन्दावनमा छ वर्ष शास्त्र अध्ययन गरेका । उनको घर सुर्खेतमा रहेछ । निधारमा लामो टीका लगाएका यी युवा अध्येता मेरा लागि जुरेको एउटा ज्ञानदृष्टि थियो । उनले खेचरादि पर्वतको पौराणिक वर्णन सुनाए ।
यी अध्येतासँग सहस्रलिङ्गसम्मको मेरो यात्रामा मैले हिँडेको महसुस गरिनँ । प्रश्न र उत्तरहरूले कौतुहलता जगाइरह्यो । सम्भवतः सहस्रलिङ्ग हालको खप्तड क्षेत्रको सबभन्दा अग्लो स्थान हो । उनले पौराणिक कथा सुनाए । कथाको खोज र अनुसन्धान बाँकी नै होला । मेरा लागि त यो खोजको सुरुवाती नै हो । कति धेरै परिकल्पना (हाइपोथेसिस) हरू उनले निर्माण गरिदिए ।
एकताका शिवजीलाई अत्यन्त सुन्दर र आध्यात्मिक स्थानमा बस्ने सोच आयो । त्यही सोचलाई पूरा गर्न उनले सबभन्दा अध्यात्मिक र शान्त स्थानको खोजी गरी पुरी÷स्थान निर्माण गर्न विश्वकर्मालाई आदेश दिए । विश्वकर्माले लामो अनुसन्धान र खोजपछि यो स्थान फेला पारे र शिवजीलाई सुनाए ।
यस क्षेत्रमा आएपछि शिवपार्वतीबिच लामो समयसम्म समागम भएको स्थानलाई आजकाल खापर दह भनिन्छ । विश्वकर्माले निर्माण गरे पनि वा प्रकृतिले निर्माण गरे पनि त्यस सहस्रलिङ्गको निर्माण रणनीतिक जस्तो देखिन्छ । अग्लो डाँडोमाथिको विशाल चट्टानको पहाड । चट्टानमुनि जीवजन्तु बास बस्न मिल्ने सुरक्षित स्थानहरू र चुचुरामा शिवलिङ्ग । ऊ बेला भगवान् शिवका लागि निर्माण गरिएको यो पुरी आज आस्था र विश्वासको केन्द्र मात्र भएको छैन, पर्यटक भित्र्याउने आधार बनेको छ ।
उनले भने, “यो सर्वशक्तिमान शिवलिङ्ग हो । यहाँ तपाईंले जे माग्नुहुन्छ प्रत्यक्ष पूरा हुन्छ ।” यस्ता सुन्दर र दिव्यभूमिको दर्शन नै मेरा लागि अर्बौं हो । निकै लामो समयदेखि मैले खप्तड याात्राको सपना बनाएको थिएँ । अछामको एउटा परिवार त्यहाँ रुद्रीपूजा गरिरहेका थिए । उनीहरूले गरेको भाकल पूरा भएको उपलक्ष्यमा रुद्रीपूजा गरेको बताए । सायद यो मनको अन्तिम बिन्दुले सात्त्विक ढङ्गबाट सोचेपछि पूरा हुन्छ भनिन्छ ।
सहस्रलिङ्ग नजिकबाट उत्पत्ति भई दुई वटा नदी बग्दा रहेछन् । दीपकले यसको रचनागर्भबारे प्रस्ट्याए, “यी गङ्गा र जमुना हुन् ।” उनले गङ्गा र जमुनाको पानीको रङ केही फरक हुने बताए । हामी शिवलिङ्गबाट एउटा खोल्सी पछ्याउँदै ओरालो लाग्यौँ । पानीको बहाव बिस्तारै बढ्दै गयो । रुखका अनेक स्वरूपहरू पानीका ससाना झर्ना, पानीका ससाना तालहरू हेर्दै ओरालो झर्दाको मोहकताले मन रोमाञ्चित थियो । उनले उत्तरवाहिनी नदीहरूको पौराणिक वर्णन सुनाए ।
त्रिवेणीधाममा उनले पानीको रङ हेरेर गङ्गा वा जमुना पहिचान गर्न लगाए । मैले दिएको उत्तरमा ‘सत्यता’ देखिएको उनको प्रशंसाको शब्दहरूमा देखिन्थ्यो । उनले सरस्वती नदी आउने मुहान र इनार देखाए तर पानी थिएन । धेरै प्रश्नहरू आए पनि मैले सोधिनँ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भनेका थिए, “तपाईंले त्रिवेणीधाममा सरस्वती नदी देख्नुहुन्न, किनकि सरस्वती ज्ञानकी देवी हुन्, ज्ञान अदृश्य तर लौकिक हुन्छ ।”
त्रिवेणीधाममा आध्यात्मिक चेतबाट सुरु यस नदीको भौतिक उपयोगका क्षेत्रहरू छुट्टै छन् । झन्डै आधा वर्ष हिउँले ढाके पनि आधा वर्ष यस क्षेत्रमा घरपालुवा जनावरहरू चराइन्छ । यी जङ्गली जनावरका निजी धारा हुन् । गाईबस्तु, योगी र पर्यटकका लागि पिउने पानी हो । यात्री रमाउने क्रीडास्थल हो । धमिलो सहरी ढल मात्र देखेका मानिसलाई त यो नदी अमृत हो ।
खप्तड बाबाले जडीबुटीको गहिरो अध्ययन गर्नुभयो । उहाँले औषधी कुट्न प्रयोग गरेका सिलौटा, सिसीहरू अझै जस्ताका तस्तै छन् । खप्तड बाबाको कथा अर्थपूर्ण छ, जुन मेडिकल डाक्टरलाई आध्यात्मले कतिसम्म प्रभाव पा¥यो भन्ने उदाहरण हो । उहाँ कास्मिरमा जन्मिएर मेडिकल अध्ययन गरेका डाक्टर हुनुहुन्छ । ११६ वर्ष बाँचेर ब्रह्मलीन हुन पुग्नुभयो ।
नितान्त व्यक्तिगत यो यात्रा मेरा लागि आध्यात्मिक शक्तिले जुराएको हुनु पर्छ । यहाँ जताततै जीवनको आदर्श देखिन्छ । समुद्र मन्थनपश्चात् विष र अमृत झैँ जीवनको हर मन्थनमा पनि राम्रा र नराम्रा पक्ष भेटिन्छन् । दीपकले भने, “यो सुन्दर फूलहरूको सुगन्ध जस्तै यहाँ अनगिन्ती विषादीजन्य बोटबिरुवा पाइन्छन् । विषादी खाएर जनावरहरू बिरामीसमेत पर्छन् । यहाँ एक नागढुङ्गा छ, त्यस नागले विषादीहरू सेवन गरी मानिस र जीवजन्तुलाई बचाएका छन् भन्ने जनविश्वास छ ।”
बझाङ, बाजुरा, डोटी र अछामको मध्यबिन्दुमा पर्ने यस क्षेत्रमा यी चार वटै जिल्लाका मानिस आधा वर्ष गाईबस्तुको अस्थायी गोठ सार्छन् । अर्को साँझ बझाङका आइत रावलको जीवन पढ्ने अवसर जु¥यो । गाईगोठहरू थुम्काका चुचुरोमा थिए । लामो कटेरामा बसेका आइतलाई ३५ वर्षको एकोहोरो गोठेयात्रा झल्झली छ । हजुरबा हजुरआमाले उनलाई गोठमा पहिलो पटक ल्याएका थिए । आमाको दूधले भन्दा खप्तडमा गाईले दिएको दूध पिएपछि आइतको शरीरमा पुष्ठता आयो रे !
पछिल्लो समय निकुञ्ज प्रशासनले केही शुल्क लिएर चरन क्षेत्र खुला गर्छ । उनीहरू त्यो नगन्य शुल्क तिरेर यहाँ गोठ बनाउँछन् । दिनभर गाईबस्तु चरनमा छाड्ने र साँझमा बटुल्ने उनीहरूको कर्म हो । जडीबुटी खाएर गाईले दिएको घिउ बेच्छन् । सयौँ मानिसलाई अमृतयुक्त घिउ दिएर धर्म कमाउँछन् ।
तेस्रो दिन भेटिएका जाजरकोटका कृष्णप्रसाद सुवेदीले मलाई खापर दहको वर्णन गरे । खापर दहको सौन्दर्य हेर्न हामीलाई निकै महँगो प¥यो । दहमा पुग्दा बाक्लो कुहिरोले छोपेको थियो । नजिकै एक गोठ रहेछ, हामी त्यस गोठमा निकै बेर बस्यौँ । गाईका बाच्छाबाच्छी गोठभरि थिए । अलौकिक भूमिमा आएर बाच्छाबाच्छीसँग बस्न पाउँदा, तिनका मुखबाट आएको बाफिलो सास सुँघ्न पाउँदा खुसीको सीमा थिएन ।
दीपक जोशीले खापर दहको अनुश्रूति पनि सुनाएका थिए । मान्छेहरूले यहाँ घरायसी उपयोगका लागि निगालाको बाँस काट्न आए । बाँस काटेपछि बाँसबाट रगत बग्न थाल्यो । आफूले खान लगेका कनिका चपाएर थुकेपछि त्यो रगत थामियो । त्यही रगतले खापर दह बन्यो । त्यो पानीको सतह कहिल्यै पनि बढ्ने वा घट्ने आजसम्म भएको छैन ।
अर्को दिन बिहानै सीतापाइलाको मूर्तिछेउ निधार राखेर ढोगियो । रहर र बाध्यताले मन सहरतिरै तानिरहेको थियो । बुकी दहबाट जङ्गलतिर छिर्दै गर्दा सुगन्धित बास्ना आइरहेकै थियो । लाग्दै थियो, के किरण जोशीले भने जस्तै यो दिव्यभूमिको सौन्दर्यको वर्णन गर्नै सकिँदैन होला त ? बुकी दहबाट जङ्गलको यात्रा सुरुवात गर्न खुट्टाहरू मानिरहेका थिएनन् । आजको यात्रामा मसँगै रहेका दुई जना मित्र भन्दै थिए, “अलिक चाँडो गरिएन भने दिपायलबाट गाडी पाउन मुस्किल छ ।”