• ८ मंसिर २०८१, शनिबार

शीतबिन्दुमा मोतीको चमक

blog

शीतको थोपा चुहेर गुलाफको बोटमा पर्दा मोतीका दानाजस्तै चमक छरिएको छ । हावाको सानो हल्लाइमा ढल्पलढल्पल हुन्छन् मसिना दानाहरू । कतै पुग्ने हतारो त छैन होला तर लामो अस्तित्व नभएका यी दानाहरू ज्वलन्त बनेका छन् सूर्यको कलिलो किरणमा ।

शीतको ओसमा भिजेर लपक्क माटो बनेको छ भुइँको कसिङ्गर । जुत्ता–चप्पल नभएका खुट्टाको प्राकृतिक जुत्ता बनेर । केही परसम्म साथ दिन खोजे पनि खुट्टाले भारी महसुस गर्छ र बेस्सरी झट्कार्छ । बाउँडिएर तन्काएझैँ खुट्टाको हिलोलाई । फालिएको हिलो आफ्नो मित्रताको लट्टाइको बन्धनबाट चुँडिएको चङ्गाजस्तै परपर गुड्केर पुग्छ । बितेको समयजस्तै स्मरणमा रहेको हिलो एकाकार भएको खुट्टाबाट भुइँभरि छरिन्छ । भोलि फेरि कसैको पैतालामा टाँसिने अभिलाषा लिएर ।

पर्यटकका लागि राखिएको टिकट काउन्टरको छानाबाट रातभरि चुहेको तुषारोको थोपा तपतप झरिरहेको छ । आँखामा परेको कसिङ्गर वा कुनै शोकमा परेकी आमाको पीडा बगाउन जस्तै निरन्तर बगिरहेको यो तुषारोले भुइँमा झर्दा पारेको प्वालमा मुख चाबेर रमाइरहेका छन् भर्खरै उड्ने प्रयासमा रहेका भँगेराका बच्चाहरू । 

उन्मत्त भैरवको अगाडिबाट एउटा बाँदर फुत्त बाहिर आयो । उसको चाह भैरवका लागि चढाएको लड्डु खोस्ने हुनु पर्छ तर ऊ हतारमा देखिँदैन । लड्डु, पेडाभन्दा छिटो टिप्न सजिलो भएर होला, एक कोसो केरा लिएर निष्फिक्री अगाडि बढ्यो । कालीको मूर्तिमा रहेको खुँडा देखेर केही सङ्कोच मान्यो कि कसो हो, हातमा लिएको केरालाई भुइँमा राखेर अलिपरको सिलौटे ढुङ्गामा गएर टुक्रुक्क बस्यो र कन्यायो लुतोले घाउ पारेको गुप्ताङ । घाममा लुतो कन्याउनुको मजा सबैलाई एउटा आनन्द हो । उसले पनि त्यही ग¥यो ।

फेरि के सोच्यो, भुइँमा राखेको केरा हातमा लियो । एक पटक वरपर आँखा घुमायो र बोक्रा ताछेर कपाकप खान थाल्यो । अलिपर फालेको बोक्रामा डुलुवा साँढेको आँखा पर्न लागेको थियो हतारमा एउटा केटो त्यसमा चिप्लिएर घिस्रियो । यो हलचलले छरेका अक्षता टिपिरहेका भँगेरा र परेवा सर्तक भए । 

बाँदर ठुलो नगरामा चढ्यो । एक पटक पूर्वको लालिमालाई हे¥यो । केही क्षण एक टकले भुइँलाई नियाल्यो । सायद आफ्नै आकृति देखेर आशङ्का पैदा भयो, अर्को बाँदर आएको ठानेर । (यो भूल नहुनु पर्ने हो, बाँदरहरू आफ्नो वंश र जिनलाई शरीरको गन्धबाट चिन्छन् ।) ऊ फरक्क फर्कियो र त्यहाँबाट मरु गणेशतिर लाग्यो । काष्ठमण्डपको छानामा अझै सूर्यको किरण परेको छैन । मरु गणेशको ओसिलो बनेको पित्तलको छानोमा चुहेको घामको किरणले स–साना वृत्तहरू बनाएको छ । ती गोलाकार आवृत्ति मालाका रूप जस्तै देखिएका थिए । केही समयमा ओइलाएका फूलजस्तै हराएर गए । प्रचण्ड सूर्यको तापसँग शीतको थोपाको कुनै जोर चलेन । 

काष्ठमण्डपको आँगनमा दौडिएर आएको साँढे देखेर डराएको बालकले छोडेको चामल टिपिरहेका छन् एक हुल परेवा । आफ्नो मुखमा आए जति चामल खाएर साँढे आफूले युद्ध जितेको घोषणा गर्दै डुक्रियो र लाग्यो परोपकार स्कुलतिर । उसले खान नसकेको चालममा झुम्मिएर रमाइरहेछन् परेवाहरू । 

परेवाहरू चर्दाचर्दै महेन्द्र संस्कृत विश्वविद्यालयको पुरानो भवनको अगाडि पटाङ्गिनीमा आइपुगेका छन् । सेता र काला बराबर चरिरहेका परेवालाई एउटा भालेले प्रभावमा पार्न खोज्छ । छेकेर एक्लै पार्न खोजे पनि समूहमा रहेका उनीहरू छुट्टिन चाहेनन् । यहाँ सुरक्षा खोजेको हो वा भालेप्रति दिलचस्पी नरहेको हो केही भन्न सकिँदैन तर देशको राजनीति जस्तै हेर्दा रोचक छ दृश्य । मर्मले भने आहात पारिरहेको ।

आफ्नो गाँड फुलाएर पोथीलाई प्रभावमा पार्न खोज्दा थकित भएको भाले काम नबन्ने देखेर नयाँ पोथीसँग चर्न थाल्छ । काम बन्ने सम्भावना र अपेक्षा सकिए पनि उसको मनको अन्तर चाहना मरेको छैन । कलिला पोथीहरू वशमा पर्छन् कि भन्ने अभिलाषा बोकेर छेक्न थाल्छ । ती परिपक्व नभएका पोथीहरू उडेर अलिपर जान्छन् । भाले एक्लो भएर पखेटा फिँजाएर पार तापेको स्वाङ गर्छ । आँगनमा क्युरियोका धेरै पसल छन् । अनेक थरी मखुण्डाले मानवीय चरित्र बोलिरहेका छन् । कुनै कुनैले गिल्ला गर्छन् हाम्रो स्वभाव र छद्मपनको । टेडो आँखाले मात्र हेर्ने न हुन् बोल्न सक्ने होइनन् । बोल्दै नबोल्नेले के गर्लान् र ? भन्ने विश्वास हुनु पनि अपराध गरेको छु भन्ने प्रमाण हो जस्तो आफैँलाई आभास हुन्छ तर ती हाम्रा अमूल्य निधि हुन् । हाम्रा धरोहर हुन् । जीवन नभए पनि जीवित सम्पदा हुन् ।

आँगनभरि घाम छरिएपछि माला बेच्नेहरूको ताँती आयो । भर्खरै केही पर्यटकहरू भूगोलपार्कको बाटो हुँदै काष्ठमाण्डपतिर आइरहेका देखिए । केहीका हातमा क्यामेरा छ । उनीहरू कला कौशलको अभूतपूर्व विम्ब खिचिरहेका छन् । आनन्द भनेको स्वर्गभन्दा सुखद हो । केही लट्ठीको सहारामा टेको लाएको हनुमानढोका दरबारलाई हेरिरहेका छन् ।

माला बेच्नेले मालाको विशेषता टुटेफुटेको अङ्ग्रेजीमा बताइरहेको छ । जेजति व्याख्या गरे पनि पर्यटकको चाख मालामा देखिँदैन । तर पनि बिक्रीका लागि अलि परसम्म पछ्याइरहेका छन् व्यापारीहरू । एउटी पातली केटीले ‘माला मलाई सुहाउँदैन, मेरो घाँटी खिरिलो छ’ भनेर तन्काइ छिन्न लागेको घाँटी । उसको साथमा भएकी अलि पाको उमेरकी महिला त्यो हाउभाउ देखेर हाँसी । विचरा व्यापारी केही नबोली धन्यवाद भनेर फर्कियो । 

एउटा नेपाली बोल्न जान्ने पर्यटकले भन्यो– चाह भएको सामान जो पनि खोजेर किन्छ । हामी विदेशदेखि नक्सा हेरेर नेपाल आइपुग्यौँ, यो कुरा नेपालीलाई बुझाउन कहिल्यै सकिएन । जुन कुरा पुरातìवलाई काम लाग्छ, त्यो हामीलाई के काम ? उसको नेपाली अरू साथीले बुझेनन् क्यारे । चाख दिएर सुनेको ठानेर होला उसले अङ्ग्रेजीमा बुझायो । साथीहरू उसको कुरा सुनेर मजाले हाँसे । मैले हाम्रो असभ्यता बढ्दै गएको ठानेर हातले मुख छोपे । 

बाँसको डेढ मिटर अग्लो काटेको घनामा मुरली र बाँसुरी बोकेर एउटा भाइ आयो । उसको बाँसुरीको धुन सुनेर सानो पर्यटक केटो आफ्नो बाउको हात तानेर उतै गयो । मधुर धुनमा बजेको बाँसुरी सायद उसलाई मन प¥यो क्यारे । एउटा बाँसुरीको मोल ग¥यो र नेपाली सय रुपियाँ दियो । बच्चाले मुखमा राख्यो र बजाउन खोज्यो, व्यापारी भाइको जस्तो बजेन । उसले यो बिग्रिएको छ भन्ने ठानेर साट्नका लागि अनुरोध ग¥यो । व्यापारीले साटिदियो । फेरि पनि बाँसुरी बजेन । 

बासुरी नबजेपछि उसले आफ्नो बाबुको अनुहारमा हे¥यो । बाबुले पनि बजाउने कोसिस ग-यो तर स्वर निकालेर बजेन । व्यापारीले उनीहरूले बजाउन जानेनन् र बिग्रिएको दियो भन्ने ठानेर बच्चाको हातबाट बाँसुरी लियो र मजाले बजाइदियो । अनि, भन्यो– ‘ट्राइ टु प्ले ।’ बच्चा फिस्स हाँस्यो तर खिन्नता मेटिएन । उसका अरू साथीहरू पर पुगिसकेका थिए । ऊ हातमा बाँसुरी च्यापेर अघि बढ्यो । 

कसले कति बेच्यो । कसले कति कमायो । साँझमा सबैले व्यापारको हिसाबकिताब गरे । नबिकेका सामानहरू काठको बाकसमा र केही खटियामा छोपियो शीत नछिर्ने गरेर । 

साँझ छिप्पिन लागेपछि अलिपर कुनामा सुत्ने तरखरमा लागे भरियाहरू । फालेका कार्टुन र बोराहरू ओछ्याएर । एउटा पुलिस आएर के भन्यो सुनिएन । हातको छडीको इसाराले उठाउन खोज्दै थियो । भरियाहरू हात जोडेर चन्द्रमालाई दर्शन गरेर सुत्ने तरखरमा लागेका हुन् कि पुलिसको याचनामा केही बुझिएन । पुलिस त्यहाँबाट ओझेल पर्दै कुमारी मन्दिरको सानो गल्लीमा छि¥यो । 

सधैँ होलिका दहन गर्ने ठाउँ हो, भरियाहरू डराउलान् भनेर एक हुल कुकुरहरू उनीहरू सँगै सुते । भरिया र कुकुरको गुडुल्काइ उस्तै देखियो, चिसो बढ्दै जाँदा । भित्री सिरक ओडेर बोराले छोपिएका भरियाभन्दा अलि टाठा देखिए खुला सुतेका कुकुरहरू । निचाल र स्वररहित बनेका यी प्राणीहरू सपना बुन्दै समान रूपमा थापिरहेका थिए निर्वाध शीतका बुँदहरूमा अमूल्य मोतीका दानाहरू ।  

  

Author

बोधराज पौडेल