• ७ मंसिर २०८१, शुक्रबार

मेलम्ची खानेपानी आयोजना

दिगो रूपमा पानी पठाउन इन्टेक बनाउनु जरुरी

blog

मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा पानी पठाउने दीर्घकालीन अवस्था अहिलेसम्म बन्न सकेको छैन। स्थायी रूपमा पानी पठाउन चार सय मिटरमाथि स्थायी इन्टेक र बालुवा थिग्य्राउने प्रणालीको विकास गर्न आवश्यक छ । अहिले जुन प्वाइन्टबाट पानी ल्याइएको छ, त्यहीँबाट दिगो रूपमा पानी लैजान नसकिने सुझाव विज्ञले दिएका छन् । दुई वर्षअघिको जस्तो बाढी आयो भने फेरि पनि क्षति पुर्‍याउन सक्छ भन्ने अनुमान गरिएको छ । राजधानीमा मेलम्चीको पानी निरन्तर ल्याउन के कस्तो काम भइरहेको छ, फेरि नयाँ पूर्वाधार वा संरचना निर्माण गर्नुपर्ने त होइन, अब राजधानीवासीले कहिलेदेखि निरन्तर मेलम्चीको पानी खान पाउने छन् भन्ने विषयमा केन्द्रित रहेर मेलम्ची खानेपानी विकास समितिका निर्देशक कमलराज श्रेष्ठसँग गोरखापत्रका लागि सपना थामी इन्दिरा अर्यालले गरेको कुराकानीको सम्पादित अंश : 

 बर्खाको समयमा मेलम्चीको पानी कसरी वितरण भएको छ ?

दुई वर्ष अगाडिको अकल्पनीय बाढीले स्थायी रूपमा बनाइएको हेडबक्सको सबै संरचना गेग्य्रानले पुरियो। त्यसको प्रभावकै कारण मेलम्चीको पानी निरन्तर दिने अवस्था भएन। बर्खा लागेपछि बन्द गर्ने र हिउँद लागेपछि खोल्ने स्थिति उत्पन्न भयो । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बर्खा सकिएपछि निरन्तर पानी चलाइरहेका छौँ ।

मेलम्ची विकास समिति खारेज भएको र खानेपानी आयोजनामा बाढीकै कारण अकल्पनीय क्षति भएकाले रिकभरीका लागि डिस्टर्वेन्स भएको हो। हामीले भने जस्तो काम गर्न भ्याउँदा पनि भ्याएनौँ । अहिले जे जति गरेका छौँ, धमिलो पानी र ठुलो बाढी नआउँदासम्मका लागि पानी पठाउने संयन्त्रको व्यवस्थापन गरेका छौँ । बर्खामा कति बेला मेलम्चीको त्यो माथिल्लो भागमा ठुलो पानी  पर्छ र कति बेला धमिलो पानी आउँछ भन्ने यकिन गर्न सकिन्न । बाढीको अनिश्चितताकै कारण जोखिम लिनुभन्दा धमिलो पानीलाई थिग्य्राउने सिस्टम नभएकाले तत्कालका लागि बन्द गरेर राखेका छौँ । मौसम विज्ञान विभागले औसतभन्दा कम वर्षा हुने सम्भावना व्यक्त गरेकाले हामी निरन्तर अनुगमनमै रहन्छौँ । अघिल्लो शनिबार पनि मुहानमा पुगी हेरेर आएका हौँ । अर्को हप्ता त्यसरी नै जान्छौँ । पानी कम प¥यो र धमिलो पानी आएन भने बिचमा पानी छोड्न सकिन्छ । बर्खा लागेपछि काठमाडौँको स्थानीय मुहान पनि बढ्ने, हरेकको घर–घरमा भएको इनार, ह्यान्डपम्पमा पनि क्षमता बढेर सजिलोसँग पानी आउने छ । बालुवा थिग्य्राउने सिस्टम नहुँदा हिउँद लागेपछि फेरि सजिलोसँग पानी नपाउने स्थिति हुन सक्छ । तत्काल धमिलो पानी भएकाले बन्द गरेका छौँ । सङ्लो पानी भएपछि हामी निरन्तर दिन्छौँ।

 मेलम्ची मुहानको हेडबक्सको अवस्था कस्तो छ ?

हेडबक्स त हेर्नैपर्ने हुन्छ, विज्ञहरूले भन्ने गरेका छन्, दस हजार वर्षमा एक चोटि आउने बाढी आउँछ। त्यस खालको बाढी आएकाले हामीले त्यसलाई तत्काल बिर्सेर स्थायी संरचना बनाउन थाल्यौँ भने वेस्टेज हुन सक्छ । त्यस कारणले एक, दुई वर्ष खोलाको अवस्था हेर्नु पर्छ । अघिल्लो वर्षभन्दा गएको वर्ष खोला छ मिटर जतिले डाउन भइसकेको छ । अब यो बर्खा पनि हेरौँ न भन्ने हो । एक, दुई वर्ष खोलाले कसरी गति लिन्छ, कुन अवस्थामा जान्छ त्यो हेरेपछि मात्रै दीर्घकालीन र स्थायी संरचना निर्माण प्रव्रिmया अघि बढाइने छ । अहिले जुन प्वाइन्टबाट हामीले पानी ल्याइरहेका छौँ, त्यही प्वाइन्टबाट दिगो रूपमा पानी लैजान सकिँदैन भन्ने विज्ञको ठम्याइ छ । किनकि त्यसको लगत्तै ठुलो पहिरो गएकाले त्यो पहिरो कुनै पनि बेला फेरि बढेर त्यहाँ पुरिन सक्छ । अनि फेरि बन्द हुन सक्छ । हाम्रो इन्टेक सार्ने तयारी छ । अब तीन, चार सय मिटरमाथि अहिले भएको मुहानभन्दा स्थायी इन्टेक र बालुवा थिग्य्राउने सिस्टमसहित चार सयदेखि पाँच सय मिटरको थप टनेल बनाएर अगाडि बढ्ने गरी तयारी भइसकेको छ । त्यसलाई औपचारिक रूपमा निर्णय गरेर अगाडि बढ्ने पूर्वतयारी छ । यो बर्खा चाहिँ जिक्ज्याक धमिलो पानी आएको बेला बन्द गर्ने, सङ्लो भएको बेला खोल्ने कार्यक्रम छ। ३६५ दिन नै पानी ल्याउन अहिलेको अवस्थामा सक्दैनौँ। अब साउनपछिको वर्किङ सिजनमा हामी बालुवा थिग्य्राउने प्रणाली बनाउँछौँ । त्यसपछि निरन्तर रूपमा पानी ल्याउन सकिन्छ । सँगसँगै इन्टेक सार्ने काम पनि हुन्छ ।

 सिनो हाइड्रो कर्पोरेसनसँग कहिले ठेक्का सम्झौता भएको हो ? 

सिनो हाइड्रोले सन् २०१९ को सेप्टेम्बरमा सम्झौता गरेको हो। सिएमसी इटालियन कन्ट्र्याक्टरले छोडेर गएपछि बाँकी रहेको काम सिनोले करिब करिब सकिसकेको थियो। ठ्याक्कै दुई वर्ष अगाडिको ठुलो बाढीमा उसले बनाएको संरचना पनि पुरिन गयो। त्यो संरचनामै काम नगरी नयाँ ठाउँमा इन्टेक बनाउने कार्यक्रम छ। उसलाई आवश्यकता अनुसार हामीले म्याद थपेर लम्ब्याइरहेको मात्रै हो। साउन, भदौसम्म कन्ट्र्याक्ट बन्द गर्छौं। भदौ, असोजसम्म त्यो बन्द गर्छौं र नयाँ मध्यकालीन समाधानमार्फत अर्को इन्टेक नबन्दासम्म र अहिले भएको भन्दा फरक बाह्रै महिना पानी ल्याउने संरचना बनाउँछौँ। त्यसका लागि डिजाइन इस्टिमेट गरेर टेन्डर गर्ने हो अब। 

  प्रधानमन्त्रीको मेलम्चीको स्थलगत भ्रमणपछि नयाँ आशा पलाएको हो ?

हो, आशा पलाएको छ। मुहानसम्म बाह्रै महिना पुग्ने बाटो थिएन र अहिलेसम्म छैन। मुहानसम्म पुग्नै सक्दैनौँ भनेपछि बाह्रै महिना पानी चलाउने अवस्था त छँदै छैन। त्यो कुरा प्रधानमन्त्रीज्यूले अहिले निरीक्षण भ्रमण गर्नुभएकाले सायद सम्बन्धित विभागले पहुँचमार्ग अगाडि बढाउने छ। बढ्नु पर्छ, बढ्छ पनि। मुहानसम्मको पहुँच सहज भयो भने इन्ट्रोभन्सन समयमै हुन्छ। त्यो हुँदा निरन्तर पानी  दिन सकिने छ। 

 हालसम्म कति लागत छ ? दुई वर्षअघिको बाढीले कति भौतिक क्षति पुग्यो ?

मेलम्ची विकास समितिले गत आर्थिक वर्षसम्ममा साढे ३० अर्ब रुपियाँ खर्च गरेको छ। यससँगै १९ सय रोपनी जग्गा अधिग्रहण, सामाजिक उत्थान कार्यक्रम, अन्य अध्ययन, विभिन्न चरणमा वातावरणीय अध्ययन र विस्तृत डिजाइनदेखि पहुँच मार्ग निर्माण गर्ने योजनासम्म छ। सुन्दरीजलसम्म ल्याउने हाम्रो काम भयो। सुन्दरीजलबाट घर–घरसम्म पु-याउन आयोजना कार्यान्वयन निर्देशनालयले त्यति नै मात्रामा खर्च गरिसकेको छ। 

दुई वर्षअघि आएको बाढीले मुहान क्षेत्रको गेग्य्रान डुबाएको मात्र हो। मुहानको बाँध, इन्टेक स्ट्रक्चर, हेडबक्सको संरचना निर्माणमा एक अर्ब रुपियाँ खर्च भएको थियो। त्यसमध्येको केही भाग प्रयोग गरेर पानी ल्याइरहेका छौँ। जुन खोलालाई छेक्ने बाँध डुबेकाले त्यहाँबाट ठ्याक्कै पानी ल्याउन सक्ने अवस्था छैन। एक अर्ब रुपियाँ जति क्षति भएको अनुमान छ। 

इन्टेक सार्न कति लाग्छ भनेर हामीले ठ्याक्कै डिटेल इस्टिमेट नभएसम्म भन्न सक्दैनौँ। दुई अर्ब प्लस खर्च हुन पनि सक्छ। बालुवा थिग्य्राउने, वास आउट सबै बनाउनुपर्ने हुन्छ। तीन अर्ब रुपियाँको हाराहारीमा लाग्न पनि सक्छ। 

त्यो बाढीपछि एउटा बर्खा मात्रै पार ग-यौँ। दोस्रो बर्खा हेर्दैछौँ। दुई अर्बको संरचना यस्तो भएको छ, फेरि दुई अर्ब खर्च गरेर बाढीले भत्कायो भने त हाम्रो लगानी खेर गयो नि। त्यो गर्न उचित ठानेनौँ। खोलाको अवस्था हेरेर एक, दुई वर्ष कस्तो हुन्छ, त्यसपछि मात्र गेग्य्रान हटाउन सहज हुने छ। गत सालको बर्खामा छ मिटर डाउन भयो। अब त्यो हेरेर कति हटाउनु पर्छ, पर्दैन, खोलाले नै कति हटाउनु पर्छ, त्यो जान्न खोजेका हौँ।

 आयोजनाको समय थपिँदै जाँदा लागत कति बढ्यो ?

हामीले त्यही कामलाई होइन, नयाँ काम गर्न डिटेल डिजाइन इस्टिमेट गर्नुपर्ने भएकाले अबको लागत कति आउँछ, त्यो हेर्न बाँकी छ। कुन स्तरसम्मको रिस्क लिने हो। सबै कुरालाई अप्टिमाइज गर्नुपर्ने हुन्छ। खोलामा बन्ने संरचना शतप्रतिशत ग्यारेन्टी भन्ने हुँदैन। केही हामीले आकलन गरेका हुन्छौँ, यो, यो परिस्थितिमा हामीले बनाएको संरचनाले थेग्छ भनेर डिजाइन गर्छौं। त्योभन्दा बढी ठुलो बाढी आउने, बगाउने, डुबाउने भएकाले कति लागत भन्ने कुरा डिटेल डिजाइन नभई थाहा हुँदैन। 

यो आर्थिक वर्षको मध्यकालीन समाधान इन्टेक नसार्दासम्म अहिले भएको ठाउँबाट बाह्रै महिना पानी ल्याउने सन्दर्भमा हामीले डिजाइन गर्दैछौँ। त्यसको कुन हदसम्म के के काम गर्ने भन्ने हो। धेरै जसो काम हामीले गरिसकेका छौँ। बालुवा थिग्य्राउने सिस्टम जोड्नु जरुरी छ। त्यो भयो भने हामीलाई अब धेरै खर्च गर्नु पर्दैन। हामी धेरै खर्च गर्ने पक्षमा पनि छैनौँ। हाम्रो ध्यान भनेको इन्टेक नै सार्नेतिर हुन्छ। अब २०, २० करोड खर्च गर्नुपर्ने अवस्था पनि हुन्छ। एकदमै कम खर्चमा  गर्छौं। इन्टेक नसार्दासम्म बाह्रै महिना पानी पठाउन सकिन्न। त्यसका लागि अहिले भएकै हेडबक्सको संरचनामा केही थप काम गरेर पानी ल्याउनुपर्ने भएकाले धेरै खर्च हुँदैन। यो आठ, दसदेखि ५० करोडसम्म जान पनि सक्छ । हाम्रो ध्यान सकेसम्म कम खर्चमा पानी ल्याउने र मुहान सार्ने कामतिर हुने छ। 

  स्थानीयका गुनासा के के छन् ?  

स्थानीयको गुनासो त्यति धेरै छैन। किनकि त्यो बाढी गएको भनेको मेलम्ची आयोजनाका कारण होइन, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनकै प्रभावस्वरूप बाढी आएर स्थानीय घरबारविहीन भएका हुन्। बाढी नआउँदा पनि स्थानीयको गुनासो थियो। मेलम्चीको मुहान क्षेत्र भनेको हेलम्बु गाउँपालिका हो, हामीले केही फाइदा नपाउने भन्ने उनीहरूको गुनासो हो। त्यो पानीलाई निरन्तर व्यावसायिक वितरण गर्न थालिएपछि आएको आम्दानीको केही प्रतिशत तोकेर स्थानीयको गुनासो सम्बोधन गर्न खोजिएको छ।  

केही हदसम्म प्रत्यक्ष वा अप्रत्यक्ष, स्थानीयलाई मेलम्चीको पानी ल्याएबापत केही न केही रकम भइहाल्छ। सङ्घीय राजधानीलाई खानेपानी सेवा उपलब्ध गराउने बहुचर्चित राष्ट्रिय गौरवको आयोजना भएकैले मेलम्ची सबैको चासो र चिन्ताको विषय बन्यो। दुई वर्ष अगाडिको बाढीले क्षतिग्रस्त बनाएको संरचना निर्माणमा सबैको सहयोग भएकाले हामीलाई ठुलो आशा जागेको छ। अब त्यो खालको बाढी आउँदैन भन्ने मान्यतामा हामी अगाडि बढेका छौँ। यो बर्खामा धमिलो पानी नआएको बेलाबाहेक बर्खा सकिनासाथ भदौ १५ उता निरन्तर पानी दिने अवस्था हुने छ। दस महिना अर्थात् तीन सय दिन पानी आपूिर्त गर्न सक्ने अवस्था भएकाले आयोजनालाई सबैबाट सकारात्मक सहयोग प्राप्त भयो भने हिउँ पग्लेर आएको शुद्ध प्राकृतिक पानीको उपभोग सङ्घीय राजधानीवासीले गर्ने छन्। यो हाम्रा लागि गौरवको विषय हुने छ। 

मेलम्ची खानेपानी विकास समितिका निर्देशक कमलराज श्रेष्ठसँग गोरखापत्रका लागि सपना थामी र इन्दिरा अर्यालले गरेको कुराकानीको सम्पादित अंश : 

भिडियोः मनोज रत्न शाही