• १२ पुस २०८१, शुक्रबार

पशुमा लम्पिस्किन रोगको सङ्क्रमण क्रमशः घट्दै : मन्त्री भुसाल

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल ।

काठमाडौं, असार २८ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले देशभर पशुहरूमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताउनुभएको हो । सङ्क्रमित पशुहरूको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उहाँको भनाइ छ ।

मन्त्री भुसालले भन्नुभयो, ‘‘अहिले सङ्क्रमण क्रमशः घट्नेक्रममा छ र मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको सदनलाई जानकारी गराउन चाहन्छु । यस रोगको रोकथाम तथा नियन्त्रणको लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानीय तहमा पठाइएको छ । र साथै विभिन्न विकास साझेदारहरू सँग यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आह्वान पनि गरिएको छ ।’’

मन्त्री भुसालले हालसम्म १२ लाखभन्दा बढी मात्रा खोप ल्याइसकिएको र दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताउनुभयो । मन्त्री भुसालले रोग नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानीय तहमा पठाइएको उहाँको भनाइ छ ।

मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म सात लाख ८२ हजार १८४ पशु सङ्क्रमित भएका बताउनुभयो । सङ्क्रमितमध्ये २८ हजार एक पशुको मृत्यु भएको र पाँच लाख २१ हजार ८१४ निको भएको उहाँले उल्लेख गर्नुभयो । यस्तै, दुई लाख ३२ हजार ३०९ पशु अहिले पनि सङ्क्रमित अवस्थामा रहेका उहाँले जानकारी गराउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘‘लम्पिस्किन रोगबाट हालसम्म सात लाख ८२ हजार १८४ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २८ हजार एक पशुको मृत्यु भएको छ भने पाँच लाख २१ हजार ८१४ निको भएका छन् । दुई लाख ३२ हजार ३०९ अहिले पनि सङ्क्रमित अवस्थामा रहेका छन् । यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिनहरू आयात गरिरहेका छौँ । हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ । असार २६ गतेसम्म दुई लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ ।’’