• १३ असोज २०८१, आइतबार

महिला पत्रकारको बीमामा निरन्तरता

blog

आमसञ्चार प्राधिकरण मधेश प्रदेश ।

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असार २१ गते । महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो । 

प्राधिकरणले आर्थिक वर्ष २०७९–८० मा मधेश प्रदेशभित्रका एकसय ५० जना महिला पत्रकारको सो बीमा गरिएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । बिमित महिला पत्रकारलाई अगामी आर्थिक वर्ष २०८०–८१ मा पनि निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । बिमित महिला पत्रकारलाई नविकरण र बीमा कार्यक्रममा सहभागी हुन नयाँ महिला पत्रकारका लागि सूचना गरिसकेका छौं ।  

यसअघि बिमित महिला पत्रकारलाई नविकरणको लागि निवेदनसहित कार्यरत सञ्चारमाध्यमबाट निरन्तरताको सिफारिसपत्र, परिचयपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने प्रावधान रहेको प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र सिंहले जानकारी दिनुभयो । 

त्यस्तै, बीमा गराउन चाहने नयाँ महिला पत्रकारलाई निवेदनसाथ नागरिकता प्रमाणपत्र, सञ्चारमाध्यमको नियुक्तिपत्र, परिचयपत्र र दुई वर्ष मिडियामा सक्रिय रहेको प्रमाणको प्रतिलिपिलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

छापा, रेडियो, टिभी, अनलाइन माध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको उक्त बीमा गरिएको छ । बिमित महिला पत्रकारले अगामी आर्थिक वर्षको सुरु महिनादेखि सुविधा लिन पाउने प्राधिकरणले जनाएको छ । बीमावापत वर्षमा पत्रकारले स्वास्थ्य उपचारमा बढीमा एक लाख र दुर्घटनामा बढीमा सात लाख रुपियाँसम्मको सुविधा लिन सकिने जनाएको छ । 

यसका लागि प्राधिकरणले गतवर्ष नै जिटुजी पोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराउन राष्ट्रिय बीमा कम्पनी लिमेटडसँग सम्झौता गरिसकेको र बीमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने प्राधिकरणका अध्यक्ष यादवको भनाइ छ ।