• ८ मंसिर २०८१, शनिबार

भत्किएको मन (कथा)

blog

तिमीलाई धेरै सम्झाएँ तर तिम्रो कानमा बतास कहिल्यै लाग्दैन । केही सम्झाउँदा मलाई नै गलत  ठान्छौ । बरु चाणक्य दर्शन सुन्ने गर । चाणक्यले भनेका कुरा आज पनि प्रासङ्गिक छन् । मान्छे जस्तो कपटी, छली र चाम्रो जात यो ब्रह्माण्डमा कोही छैन । पेटभरि अनेकौँ कुरा राखेर मुखले ठिक्क पार्ने मान्छेको कमी छैन यहाँ । 

हेर त ! महादेवले पनि सतीलाई आफ्नै बाउको घर जान रोकेका थिए । दिदीबहिनीको वैभवका सामु निम्छरो हुँदा अपमानित हुनु पर्छ भन्ने सन्देश कलियुगका लागि थियो । नत्र सती र शिव त त्रिकालदर्शी थिए । 

त्यसैले जहाँ हृदयबाट सम्मान हुँदैन, त्यस्तो ठाउँमा जानै हुँदैन । शिवले रोक्दा रोक्दै सती आफ्नै माइत जाँदा के भयो तिमीलाई अवगतै छ । यो पुँजीवादी समाजमा आर्थिक हैसियत नमिलेपछि सबै हैसियत झुठा हुन्छन् । समाजमा मात्र होइन, धनी र गरिबबिचको सङ्घर्ष परिवारभित्र अझ डरलाग्दो छ । जब धनी र गरिबबिचको खाडल फराकिलो हुन्छ तब रगतका सम्बन्धहरू पनि सिसा फुटे जसरी फुट्छन्, आत्मीय नातामा पनि देखावटीपन स्वाभाविक रूपमा मौलाउँछ । माया र प्रेममा फाटो आउँछ । सम्बन्ध बुख्याँचा जस्तै बन्न थाल्छ । 

निलाले श्रीमान्को कुरालाई एक कानले सुनेर अर्को कानले उडाई । आफ्नै दिदीभिनाजुको वैभव र सम्पन्नताको गुण गाएर ऊ थाक्दिैन थिई । भरखरै दिदीको छोराको बिहेमा सहभागी भएर आएकी  निलाको खुट्टा भुइँमा थिएन । बिहेमा गरेको तडकभडक देखेर त्यसै त्यसै मक्ख थिई । हप्ता दिनअघि सम्धिनी भेटमा निलाले पनि सानो उपहार पाएकी थिई ।

साधारण कुराले पनि निलाको मुहारमा चन्द्रमा उदाउँथ्यो । दिदीको इज्जत जोगाइदिन आफ्नो नैतिकताविपरीत सुनका गहना अरूसँग मागेर भए पनि सुनौली भएकी थिई । भिनाजु असल मान्छे भएर नै दिदीको घर स्वर्ग भएको ठान्थी । बेला बेला श्रीमान्को अगाडि भिनाजुको निकै गुणगान गाउने गर्थी । श्रीमान्लाई  भिनाजुको आनीबानी अनुकरण गर्न दबाब पनि दिन्थी । 

दिदीले दिएका जडौरी सामानहरू पनि सहर्ष स्विकार्थी । दिदीले दिएका अर्धानो लुगाफाटोमा स्वर्गीय आमाको न्यानो माया र स्नेह लुकेको महसुस गर्थी । दिदीको एक बोलीमा निलालाई आमाको स्मृति ताजा हुन्थ्यो । आमा समान दिदीको कुरा ऊ कहिल्यै काट्न सक्दिन थिई । दिदीप्रति सदा नतमस्तक हुन्थी । भिजाजुलाई पनि सदैव आदर र सत्कार गर्दै अभिभावकको स्थानमा राखेकी थिई । दिदीभिनाजुलाई सम्झिँदै बिहेमा लगाएका लुगाफाटो मिलाउँदै थिई ।

म्यासेन्जरमा फोन आयो । दिदीकै रहेछ भन्दै निलाले फोन उठाई । निलाको खुसी पोखिएर छताछुल्ल भयो । फोन स्पिकरमा राख्दै निला हाँसेर बोल्न थाली, “दर्शन दिदी ! के छ खबर बिहेघरको ? छोराबुहारी पोखरा गए त ? अनि पाहुनाहरूको के छ खबर ?”

“सबै ठिक छ नानी, छोराबुहारी गए । देवर र नन्द सँगै हुनुहुन्छ । एउटा कुरा सोध्न फोन गरेकी, हेर्न अस्ति सम्धिनीले दिएको तिलहरी पार्टी प्यालेसबाटै हराएछ, तैँले देखेकी छस् कि भनेर सोधेको ।”

निलाका श्रीमान्–श्रीमती सँगै थिए । निलाले नीलोकालो अनुहार लगाउँदै भनी, “हेर दिदी ! मैले त सम्धिनीले के के दिएका थिए, त्यो पनि नहेरी हतार हतार घर आएँ । मैले तिलहरी देखेको छैन । देखेको भए तँलाई भनिहाल्थेँ नि ।” 

“ए ! हो, उसो भए ठिकै छ । ज्वाइँलाई नसुनाएस्, लु अहिलेलाई राखेँ है त !” दिदीले फोन राखी तर दिदीको फोन काटिएकै थिएन । उताको वार्तालाप सुनिँदै थियो । दिदीकी देवरानी बोल्दै थिइन्, “मैले त त्यो तिलहरी निलाकै हातमा देखेकी थिएँ । बिर्सेर खुसुक्क ब्यागतिर पो हालिन् कि भन्ने पनि लागेको थियो, बिचरा होइन रहेछ, कसले लियो होला ।”

फेरि अर्को तिखो स्वर सुनियो, “प्यार्टी प्यालेसबाट घरसम्म आउँदा त तिलहरीको रातो ब्याग किस्तीमै थियो । निला पार्टी प्यालेसबाट गएपछि चाँदनीले त्यो किस्ती समाएकी थिई । बैठक कोठासम्म त्यो रातो गहनाको झोला मेरै आँखाले देखेको हो तर खोलेर भित्रको सामान त हेरिनँ,  कि चाँदनीले उडाई ।” 

अचानक भिनाजु बोलेको निलाले सुनी, “चाँदनी र निलामध्ये पक्कै एउटीले उठाए । अरू सबैको तिलहरी छ । तिनीहरूकै केही गहना छैन । सधैँ बिहेमा जाँदा दिदीसँग मागेर लगाउँथे । कसैको बिहे आउँदा उनीहरूलाई नै के लगाउने भन्ने पीडा हुन्थ्यो । ती दुइटी  यहाँ आए भने एक एक झोला पुराना सामान त बोकेर हिँड्छन् । दुम्सीले माटो उधिने जसरी कोठा कोठा चाहार्दै सामान खोतल्छन् । जे हाल्दिए पनि नाइँ भन्दैनन् । कुहेको फर्सी दिए पनि हाँस्दै बोक्छन् । कहीँ नभएका दरिद्रीहरू !” 

भिनाजुको हाँसोले यता निलाको कानको जाली झन्डै फुटेको । आफ्नो भाइ, बुहारी र बहिनीका अगाडि आफूलाई पखालेको सुन्दा निलाको विश्वासमा कहिल्यै नथामिने गरी पहिरो गयो । निलाको संसारमा डढेलो लाग्यो, धर्ती फाट्यो, आकाश खस्यो । बारम्बार श्रीमान्ले बाटो देखाएको झलझली याद आयो । 

ओहो ! हिजोसम्म केही नहुँदा मनुजता बरु जीवित थियो तर आज सम्पन्नताले मनुजता नै स्वाहा पा¥यो । निला सोचमग्न हुँदै थिई । फोनको आवाज अझ चर्को हुँदै गयो, “अब चुप्प लाग । अरू कसले लान्छ घरकै मान्छेले लिए । जसको थिएन उसैले लियो । के भयो त  । अब जे भयो भयो । अब कोही नबोल ।” 

दिदीकी सासू निकै ज्ञानी पल्टिएर बोल्दै थिइन् । एक्कासि दिदी बम्किएको सुनियो, “मेरा दिदीबहिनीले सुनको थुप्रो भए पनि चोरेर हिँड्दैनन् । बरु माग्लान् बेग्लै कुरा हो । तपाईंलाई अलिकति सरम लागेन । आफ्ना भाइबुहारी,  बहिनीज्वाइँका अगाडि मेरा दिदीबहिनीलाई त्यसरी गिराएर पखाल्दा ? आज आएर तपाईंका आफन्तहरू भलाद्मी र सम्पन्न भए अनि मेरा माइतीलाई चोर र लालची ठान्नुभयो । अघि पनि निला र चाँदनीलाई फोन गर्न पटक्क मन थिएन । तपाईंकै जिद्दीले फोन गरेँ । तपाईंका मामाका, फुपूका र सानिमाका छोरीहरूलाई फोन गर्नुभयो, ती पनि त पार्टीमा गएका थिए । के उनीहरूले देखेका हुन सक्दैनन् ? मलाई थाहा छ, मेरा बहिनीहरू कस्ता छन् भनेर । हिजो अप्ठ्यारोमा मेरै बहिनीहरूले तपाईंलाई सहयोग गरे । आज तपाईंको घरमा प्राडो छ, नोकरचाकर छन्, सुनको थुप्रो छ । अनि तपाईंलाई हीरामोती खाए पनि पुग्ला तर आफ्नो अतीततिर पनि बेला बेलामा फर्किनू । हिजो एक धार्नी आलु मेरो माइतीले ल्याइदिँदा मक्ख पर्नुहुन्थ्यो त । आज छोराछोरी डाक्टर भए, राम्रो पैसा कमाएका छन्, ठाउँमा छन् । ती जन्मिएको बेला सम्झनुस्, त्यही चोर्नीहरूले तपाईंका छोराछोरीको गुमुत सोहोरेर बसे, ल भन्नु आज जसका अगाडि मेरा बैनीहरूको कुरा काट्दै हुनुहुन्छ, त्यो बेला यी कहाँ थिए ? बडो कार्लमाक्र्सको दर्शन घोक्नुहुन्थ्यो, पुँजी र वर्गसङ्घर्षको सिद्धान्त रट्नुहुन्थ्यो । खोइ तपाईंको सिद्धान्त र वाद ? कि सम्पत्तिसँग साटिए ? कि पैसाले सबै सिद्धान्त पु¥यो ।” 

दिदीमा दुर्गा, काली र चण्डीको आत्मा प्रविष्ट गरेको सुन्दै निला मक्ख परी । दिदीका नन्दहरूले झगडालाई साम्य पार्न खोज्दै थिए । उकुसमुकुस भएर निलाका आँखाबाट असार साउन बग्न थाल्यो ।

“भाउजू ! कृपया चुप्प लाग्नुस् न, नरिसाउनुस् न । जो होचो उसको मुखमा घोचो भनेको यही हो  । दाजुलाई के दोष दिनु । सबैले बलेकै आगो ताप्छन् । बिचरा त्यो निला र चाँदनीलाई अनाहकमा आरोप लगाएर ।”

फोन एकोहोरो टुँ टुँ गरेर बज्यो । बल्ल काटिएछ । अरूले सुनाएका भए बरु भ्रम जीवित नै हुन्थ्यो तर निलाले भिनाजुको घिनलाग्दो मन र मस्तिष्क प्रत्यक्ष पढ्न पाएकी थिई । निला आकुलव्याकुल भई । दिदीले दिएका जम्मै लुगा बाहिर लगेर मटितेल खन्याउँदै आगो झोस्न मन लागेको थियो । हृदयमा रापिलो भएको स्वाभिमानको फिलिङ्गो ज्वाला बन्दै गयो । छेउमा श्रीमान् बडो गम्भीर मुद्रामा अझ सम्झाउँदै थिए । “यही कारणले अरूको घर भरसक नजाऊ भनेर भन्थेँ । आज बल्ल थाहा पायौ । तिम्री कान्छी बहिनीलाई पक्कै फोन गरेर सोधेनन् तिलहरी हराएको कुरा । चाँदनी र तिमीलाई मात्र सुन हराएको कुरा फोनबाटै सोधियो, किन होला त्यति पनि बुझ्न सकिनौँ । माक्र्सको वर्गसङ्घर्ष राम्रोसँग मैले पनि पढेको छु । म डराएको यही दिनका लागि थियो । अब पनि तिम्रो घैँटामा घाम लाग्ला कि नलाग्ला मलाई चिन्ता छ ।” 

निलालाई त्यो दिनदेखि फिटिक्कै निद्रा लाग्न छोड्यो । सिलिङतिर हेर्दै सोच्न थाली, “अहो ! तिनै भिनाजु चप्पल लगाएर साइकलमा ससुराली आउँदा कति असल थिए । हामीलाई असल मान्छे बन्न प्रेरित गरिरहन्थे । म्याक्सिम गोर्कीको ‘आमा’ पुस्तक उपहार दिने भिनाजु तिनै हुन् । साहित्य र संसारको भ्रमण गर्न हौसला दिन्थे । समानता र समाजवादको महŒव र आवश्यकता बुझाउन खोज्थे तर प्राडोमा हिँड्न थालेपछि छोरी जस्ता सालीहरूलाई यो हदसम्म हेपेर अरूका सामु बोलेको पनि सुन्नु प¥यो । छिःछिः आफ्नो जस्तो लागेर केही बढ्ता बोलियो पनि होला । दिदीका घर जाँदा धेरै खायौँ पनि होला । आफ्नै हातले झिकेर केही लियौँ पनि होला । दिदीसँग केही माग्यौँ पनि होला । हामीले त दिदी र भिनाजुको अप्ठ्यारोलाई आफ्नै अप्ठ्यारो ठानेका थियौँ । दिदी–भिनाजुको दुःखलाई कहिल्यै पराइको ठानेनौँ । दिदीको घरलाई अर्काको घर कहिल्यै मानेनौँ ।”

जुरुक्क उठेर बोतलको पानी घटघट पार्दै निला पुनः सोचमग्न हुन्छे, “भिनाजु त अर्काको छोरो जति गरे पनि आफ्नो हुँदैनन् । दिदीले त सबैका अगाडि भिनाजुलाई हकारी । आफ्नो रगत भनेको आफ्नै हो ।” 

मक्ख पर्दै निला आफ्नै सोचाइको गहिराइमा गोता लगाउँदै थिई । घडीमा रातको ठिक १० बजेको थियो । मोबाइलमा म्यासेज ट्वाङ्ग बज्यो । निला आफ्नो सोचको उडानबाट हठात् उठेर मोबाइल चेक गर्न थाली । कान्छी बहिनीले दिदीले नै पठाएको आवाज सन्देश फर्वाड गरेकी रहिछे ।

“रश्मि ! भोलि हाम्रो घरमा खाना खान आइज है । चाँदनी र निलालाई पनि बोलाएको छु । हेर न अस्ति ! तिलहरी हराएको थियो । तँलाई त भनिनँ । तँलाई केको कमी थियो र ? साँच्चै हेर मलाई पनि चाँदे र निलेले नै टप्काए भन्ने पूर्ण विश्वास थियो तर भेटियो ।” भ्वाइस म्यासेज सुनेपछि निलाको अनुहारमा आँधीतुफान मडारियो । अनि तुरुन्तै कान्छी बहिनीलाई फोन गरी । 

बहिनीले गुनासो पोखी, “हेर  तँलाई र चाँदनीलाई भिनाजुले बारम्बार खसालेर बोलेको सुनेको थिएँ । भिनाजुको बानी नै यस्तै हो भनेर बेवास्ता गर्थें । मजाक मजाकमा आफ्ना सालीहरूलाई उडाएका होलान् भन्थेँ, होइन रहेछ । यसो दुई÷चार लाख नडराई खर्च गरे पो तेरो हैसियत बढ्छ । दिदीले पनि हामीसँग तेरो र चाँदनीको कुरा कम्ता गरेकी छैन । भरसक नजानु त्यहाँ । सुदामालाई स्वागत गर्ने कृष्ण त कथामा मात्र भेटिन्छन्, हेर दिदी ।” 

ओहो ! दिदीबहिनीबिचको प्रेमलाई पनि सम्पत्तिले परास्त गर्ने रहेछ । “हेर दिदी ! भिनाजु मात्र होइन, दिदी पनि कमकी छैन । मेरो घर आउँदा ज्वाइँकै अगाडि तिम्रो कुरा गर्दै थिई । दिदीले बोलाए पनि भरसक नजानू !” 

अनि कान्छी बहिनीको आवाजले भूत बनेर निलालाई तर्साउनुसम्म तर्सायो । बिहान ओछ्यानमै निला झसङ्ग भई । पुनः म्यासेन्जरमा फोन आयो दिदीको रहेछ, “नानी ! हेर न तिलहरी त भेटियो नि ! भिनाजुले धेरै जतन गर्ने हुँदा बेहुलीकै सुट्केसमा हालिदिनुभएको रहेछ । हिजो उनीहरू पोखराबाट आएपछि पो सुटकेस खोल्दा बुहारीले भेटी । तिलहरी भेटिएको खुसीमा आज हाम्रै घरमा खाना खान आइज है, ज्वाइँलाई पनि लिएर । चाँडो आइज । अनि भेटेर कुरा गरौँला, तँलाई सरप्राइज पनि छ ।”  

निलाको मस्तिष्कमा अकस्मात् सुनामी उठ्यो । हृदयमा ज्वालामुखी फुट्यो । शरीरभरि डरलाग्दो कम्पन छुट्यो । आँखा लालगेडी भए । दाँत किट्किटिएर अनुहार अस्वाभाविक बन्यो तर पनि संयमित भएर आफ्नो संस्कारलाई यथास्थितिमा राख्दै सुस्तरी बोली, “दिदी आज हामी आउन मिल्दैन, आज पशुपतिनाथको दर्शन गर्न जाने भन्नुभएको छ ज्वाइँले ।” निलाले पहिलो पटक दिदीले बोलाउँदा त्यसरी बहाना बनाएकी थिई ।

   

Author

अनिता कोइराला