• ८ मंसिर २०८१, शनिबार

छोरालाई बाबुको पत्र

blog

अफिसबाट थाकेर फर्केको थिएँ कोठामा । लौ ल्यापटप त बन्द गर्न नै भुलेँछु । चार्ज १२ प्रतिशत आइपुगेको रहेछ । चार्ज गर्नुप¥यो भनेर हेर्दै थिएँ, एउटा मेलको नोटिफिकेसन देखेँ । महत्त्वपूर्ण मेल हो कि भन्ने लागेर खोलेर हेरेँ, लामो चिठी देखेँ । माथि सम्बोधन गरिएको थियो – प्यारो छोरा ! अब त ठम्याउन गाह्रो भएन, मेल बाबाको रहेछ । त्यसपछिको विवरण यस्तो थियो :

प्यारो छोरा, कति कुरा लेख्न सकिँदैन भन्नु पर्छ । अनि केही कुरा भन्न सकिँदैन लेख्नु पर्छ । यसलाई यस्तै यस्तै सोच्नू । बाबु हरेक ठाउँ हिँड्दा, बाइक चलाउँदा बिस्तारै चलाउनु । बाइक चलाउँदा तिम्रो श्वास तिम्रो हातमा हुनेछ । बाइकको स्पिड जब बढाउने छौ, तिम्रो मुटुको धड्कन पनि बढ्ने छ । मेडिकल भाषामा मुटुको धड्कन बढ्नु भनेको ट्याकिकार्डिया हो । अनि जब स्पिड कम गर्ने छौ, तिम्रो मुटुको धड्कन पनि घट्ने छ, जसलाई ब्याकिकार्डिया भनिन्छ ।

छोरा मलाई थाहा छ तिमीले सानै उमेरमा सरकारी सेवा रोज्यौ । तिमी कहिलेकाहीँ अतालिन्छौ पनि । ममीलाई फोन गरेर गुनासो पनि गर्छौ रे । छोरा तिमीलाई यो कुरा थाहा नै छैन, छोराछोरीले आमासँग कुरा लुकाउँदैनन्, बाबासँग लुकाउँछन् । अनि छोराछोरीको कुरा आमाले बाबासँग लुकाउँदैनन् ।

छोरा तिमी अतालिनु हुन्न । अन्दाज नै सही आजभन्दा भोलि पक्का समस्या बढ्ने छ । तिमी परिपक्व पनि हुने छौ । श्वाससँग सहकार्य गर्नु पर्छ । अस्तित्व जोगाउने होडबाजीमा तिमीले सयौँको साथ हिँड्नु पर्छ । तिम्रो परिकल्पनाभन्दा बिल्कुलै भिन्न छ बाहिरको जगत् । विवेकवादी, साम्यवादी, साम्राज्यवादी र समाजवादी हुन सक्नु तिम्रो फोक्सोमा श्वास कुदिरहेको सङ्केत हो । हरेक चिज शून्य छ । शून्यतामा तिमी पनि बिलाउने छौ । याद गर्नु बिग्रेको घडीले त दिनमा दुई पटक सही समय बताउने गर्छ । त्यसैले सधैँ आफूलाई चिन्ने प्रयास गर्नु । यो सिङ्गो जगत्मा साराले आफूलाई चिन्न नसकेर दुःख पाइरहेछन् । मलाई आशा छ, तिमीले छिट्टै आफूलाई चिन्न सक्षम हुने छौ ।

सन्तानको प्रत्येक पदचाप अनि हुर्काइमा बाबु सँगै हुनु पर्छ तर मलाई माफ गर्नु है छोरा मैले तिम्रो हुर्काइलाई नजिकबाट नियाल्न सकिनँ । म त तिम्रो हुर्काइमा घामछायाँ, हुरिबतास नपरोस् भनेर बलियो छानो बनाउन नै व्यस्त भएँ ।

तिम्रो कलिलो मुस्कानका केही खण्डहरू मैले छुटाएको छु । तिमीले लड्दै उठ्दै गरेका केही हिँडाइहरू मैले छुटाएको छु । तिमी अपरिपक्व ठान्दाठान्दै परिपक्व भएको मान्छे हौ । बाबाआमाका काँध चढ्दा छोरा बच्चा हुन्छ्न् । छोराको काँध चढेको दिन बाबाआमा लास भएका हुन्छन् । छोरा मैले भन्न बाँकी धेरै कुरा छन् तिमीलाई । तिमीले बुझ्नु पर्ने पनि धेरै कुरा छन् । 

हामीले पुज्ने कुल देवताको नाम के हो ?

बेँसी खेतमा कति मुरीको धानको बिउ राख्नु पर्छ ?

कुन खेतमा पानी लगाउन कुन खेतको समाह थुन्नु पर्छ ? कुन डिलको समाह खोल्नु पर्छ ?

घरबारीमा कति पाथीको मकै, कोदोको बिउ राख्नु पर्छ ? कति लाठे रोपाहार लाग्छन् ?

घरको कुन चाहिँ काठको ठेकी चुहुने भएको छ ?

कोदालीमा पाता फेर्ने समय भएको छ कि छैन ?

मैले भनेको दिन त यो सम्झिने छौ होला तर भन्दै नभनेको दिन के गर्छौ भनेर मात्र हो । सम्बन्धहरू बिकाउ हुन्छन् । सम्बन्धहरू टिकाउ पनि हुन्छन् । कुन सम्बन्ध टिक्छन् कुन सम्बन्ध बिक्छन् यो पनि तिमीले बुझ्नु पर्छ ।

तिम्रो भविष्यको नक्साङ्कन तिमी आफैँले गरिसकेका छौ । घरको नक्सा बिगार्ने इन्जिनियरले पनि आफ्नो जिन्दगीको नक्सा निकै सुन्दर बनाउने गर्छन् । बाबु, बच्चामा तिमीले धेरै कुरा भन्थ्यौ, हामीले थोरै बुझ्थ्यौँ । अहिले मैले थोरै कुरा भन्दै छु, तिमीले धेरै बुझ्नु पर्छ ।

छोरा, तिमीलाई हरेक कुरा प्रिय लाग्दालाग्दै अप्रिय लाग्छन्, यो पनि बुझ्नु पर्छ । तिम्रा पहिलाका साथी सँगै छन् कि छैनन् । दिनमा कति पटक कुरा हुन्छ ? हप्तामा हुन्छ कि महिनौँसम्म पनि हुन्न । कतिलाई त वर्षांै भयो होला नि नभेटेको । बाबु, यस्तै हुन्छ । यही नै सत्य हो । हामी लत हटेपछि हरचिज भुल्न सक्छौँ । बदलिँदो समयसँग हामी पनि बदलिने छौँ । बदलिनु पर्छ । लासको अन्तिम संस्कार सकेर मलामी घर नपुग्दासम्म हो परिवारका सदस्य रुने । यहाँ पनि त बदलिएका छन्– भाव, भावना, चेतना ।

छोरा तिमीलाई अर्को कुरा थाहा छ ? भाग्यले भ्रम पैदा गरिदिन्छ । अनि त्यही भ्रममा दौडिरहेका सारा मनुवाहरू एक दिन त्यसै सकिन्छन् । प्राणपखेरु उसै उडिजान्छ । मानव जीवन नै एउटा भ्रममय संसार हो । कृत्रिमताले भरिएको पाषाण सम्बन्धलाई अँगालिरहनु केबल बाँचेको देखाउनु मात्र हो । जब समय बितिजान्छ, सम्बन्धहरू पनि एकाएक हराइजान्छन् । महत्त्वाकाङ्क्षी हुनु स्वभलो चिताउनु हो । प्रत्येक आशा निराशामा बदलिनु महत्त्वाकाङ्क्षी हुनु हो । त्यसैले महत्त्वहीन बनिदिनु नै निर्वाण प्राप्त गर्नु हो । निर्वाण प्राप्त गर्नु नै आफूलाई पाउनु हो । छोरा, चिठी लेख्दालेख्दै तिम्रो ममीले बोलाई, खोइ कुन्नि किन हो, अहिलेलाई यति नै ।

तिम्रो बुबा ।

   

Author

दीपक घिमिरे