• १३ साउन २०८१, आइतबार

संरक्षणको पर्खाइमा धनकुटेली घर

blog

कोकिला भण्डारी 

धनकुटा, असार १२ गते । ऐतिहासिक महत्त्व बोकेका धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ र ८ का पुराना घरहरू संरक्षणको पर्खाइमा छन् । उक्त घरहरू संरक्षण नहुँदा अहिले भत्किन थालेका छन् । 

एक जमानामा घमाइलो र समथर भू-भाग रहेको मुगाको नाम सुने मात्रैपनि जो कोही मोहित हुन्थे । मुगामा बनेका दरबार शैलीका घरले झनै सबैको मन लोभ्याउँथ्यो । तर, राणाकालीन समयमा बनाइएका झण्डै ३५ वटा घरहरूमध्ये अब आधा दर्जन घर पनि बस्न लायक छैनन् । 

यी घरहरूमा पनि थापा परिवारका कोही बस्दैनन् । उहाँहरू नबसेपछि केही घरहरूमा रुङ्गालु राखिएका छन् । अर्जुन थापाको घर रुगेर बस्नुहुने धनकुमारी भुजेल भन्नुहुन्छ, “थुप्रै वर्ष भयो रुगेर बसेको, रुगेर बसेबापत जमिनमा उत्पादन भएको उपज खाने सर्तमा १७ वर्ष अगाडीदेखि रुगेर बसेकी छु, आएको बेला यो घर बनाउँछु भन्छ तर तल गएपछि बिर्सिहाल्छन्, खै के बनाउलान् र ।”

हालको पाख्रिबास नगरपालिका वडा नं. ८ मा रहेको पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको ५२ ढोके घर द्धन्द्धकालमा तत्कालीन माओवादीले भत्काएको थियो । त्यसयता न स्व. सूर्यबहादुर थापाले सो घरलाई बनाउनुभयो न उहाँका छोरा पुर्वमन्त्री सुनीलबहादुर थापाले नै । 

यहाँ सबै घर भत्किसेका छन् । संरक्षण गर्ने हो भने पनि धेरै छैनन् तर बाँकी रहेका थापा परिवार लगायतका घरहरूलाई संरक्षण गर्नसके पर्यटकीय सम्भावना देखिएको मुगामा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आउनुभएका अजितनारायणसिंह थापाले बताउनुभयो । 

पछिल्लो समयमा पर्यटकहरूले पुराना र ऐतिहासिक महत्त्व बोकेका घरहरू मन पराउन थालेका छन् । मुगामा यतिबेला आठदेखि १० वटा मात्र घरहरू बाँकी रहेकाले यी घरहरू संरक्षण गर्नसके मुगामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने पाख्रिबास नगरपालिका वडा नं. ७ का पूर्णबहादुर राईको भनाइ छ ।

ऐतिहासिक महत्त्व बोकेका मुगामा बाँकी रहेका ठुला र दरबार शैलीका घरहरूलाई संरक्षण गर्नसके ती घरहरू पर्यटकहरूको रोजाइमा पर्न सक्छन् । त्यसका लागि घरवालाले मात्रै होइन, स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ ।