अमृतप्रसाद पौडेल
म्याग्दी, आसर ११ गते । हिमालपारीको जिल्ला मुस्ताङका पाँच वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम एवम् बजेट पारित गरेका छन् ।
जिल्ला सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाले असार ७ गते नै नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले प्रस्तुत गरेको २९ करोड ९६ लाख ५९ हजार रुपियाँको बजेट छलफल पछि पारित भएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।
चालुतर्फ १८ करोड ४३ दाख १८ हजार र पुँजीगत तर्फ ११ करोड ५३ लाख ४१ हजार रुपियाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरीएको छ । नेपाल चीन सिमाना पर्ने कोरला नाका रहेको लोमन्थाङ गाउँपालिका २९ करोड ८६ लाख ४१ हजार रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि आइतबार पारित भएको सूचना अधिकारी विकास केसीले बताउनुभयो ।
गाउँसभामा नीति तथा कार्यक्रम एवम् बजेट पारीत भएको उहाँको भनाइ छ । लोघेकर दामोदर कुण्ड गाउँपालिकामा चालुतर्फ ११ करोड २६ लाख र पुँजीगततर्फ १२ करोड ९३ लाख गरी कुल २४ करोड १९ लाख रुपियाँको बजेट उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
सभामा छलफल पछि उक्त बजेट पारित भएको हो । पवित्र तिर्थस्थल मुक्तिनाथ रहेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा चालु तर्फ १६ करोड ५ लाख र पुँजीगततर्फ ९ करोड ५६ लाख गरी कूल २५ करोड ६२ लाख गरी कूल २५ करोड ६२ लाखको बजेट पारित भएको छ ।
त्यस्तैगरी मुस्ताङको सबैभन्दा तल्लो थासाङ गाउँपालिकामा ३६ करोड ६८ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल पछि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले बताउनुभयो ।