अहिले बिरामी समय बिताइरहेछु म
आफ्नो सास आफैँलाई कोक्याउँछ
भुइँ टेक्ने साहस खुट्टामा छैन
कलम समात्दा हात लर्बराउँछ
जिउ, सर्वाङ्ग दुख्छ
छिनछिनमा जिब्रो सुक्छ
प्रस्ट केही देखिँदैन
धमिलोले आँखा टट्याउँछ
बोल्नै झिँज्याहट लागिरहेको यस्तो बेला
बिरामी हेर्न आएका उनीहरू
अनिष्टका अनेकौँ दृष्टान्त अघि सार्दै
बिरामीलाई थप बिरामी बनाएर फर्कन्छन्
उसो त कोही कोही
विपत्तिको फाइदा उठाएर
घरखेत हडप्न सकिन्छ कि भन्दै
चिन्ता जताएझैँ
खर्चबर्चको पासो थाप्न पनि आउँछन्
बिरामी हुनुभन्दा
बिरामी अवस्थाबाट गुज्रन झनै कठिन छ
विश्वास, धर्मराउँछ
आस्था, डगमगाउँछ
मन लाग्दैन– सपना देखूँ
मन लाग्दैन– कविता लेखूँ
बिरामी पर्दा
एउटा मान्छे त यस्तो अवस्थाबाट गुज्रन्छ भने
जहान नै बिरामी भए के होला ?
मेरो देश !
तिमी कहिल्यै बिरामी नहुनु !