अगस्ट ६, २०२२ को बिहान हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स एम्पिथिएटर अर्थात् रेडरक्स रङ्गशाला घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिप्ला बाटाहरूमा कुनै बाधाबिना दौडिरहेका गाडीहरूसँग प्रतिस्पर्धा गर्दै हामी पनि एक घण्टामा त्यहाँ पुग्यौँ । यो ठाउँ पुग्नुअघि ठूलो ढुङ्गालाई झ्यालको आकारमा काटेर गाडीहरू हिँड्ने बाटो बनाइएको रहेछ, त्यही बाटो भएर हामी पनि अगाडि बढ्यौँ । दुलहीको घर पुग्न लागेका जन्तीको लस्कर जस्तै मन्द गतिमा बाटोभरि गाडीहरू एकापसमा प्रतिस्पर्धा गर्दै गुडिरहेका थिए । खण्ड खण्डमा रहेका पार्किङ स्थलहरू सबै भरिभराउ थिए । आआफ्ना गाडी उचित ठाउँमा पार्किङ गर्ने स्थलको खोजीमा सबै चालक चारैतिर आँखा दौडाइरहेका थिए । हामीले पनि त्यही लस्करमा कहिले तलको त कहिले माथिको पार्किङ स्थल चहार्दा चहार्दै बल्लतल्ल गाडी राख्ने ठाउँ पायौँ । बिहानको १० बजेतिर गाडी छोडेर अगाडि बढेपछि बाटोको छेउमै राता रङका दुईवटा ठूला ढुङ्गा भेटिएका थिए । यी ढुङ्गाहरू मानौँ मान्यजनहरूलाई स्वागत गर्न सोह्रशृङ्गारले सजिई हातमा फूलको माला लिएर बाटोमा बसेका कुमारीहरू जस्ता लाग्दथे ।
घडीको सुईसँगै नपत्याउँदो तरिकाले डेन्भरको गर्मी पनि बढ्दै थियो । ती दुई ढुङ्गाको बिचमा मानिस हिँड्ने फराकिलो चिप्लो बाटो बनाइएको थियो । बाटोको माथिल्लो भागमा पर्यटक सूचना केन्द्र र शौचालय थियो भने तल्लो भागमा दायाँ बायाँ हिड्ने सिँढी छोडेर बाँकी भागमा स्टिलको छेकबार लगाइएको रहेछ । हामी यही छेकबारमा पुगेर हेर्दा सिधा अगाडि केही टाढा डेन्भर सहरको बिच भाग, चिप्ला बाटाहरू र मानवनिर्मित पोखरीहरूमा केही बेर नजर दौडायौँ । हामी उभिएको छेकबारको तल एउटा ठूलो रङ्गशाला रहेछ । गन्दै जाँदा यो रङ्गशालाका ७९ वटा सिँढी थिए र यी सबै सिँढी एकदम फराकिला थिए । मानिसहरू बस्ने ठाउँमा काठ र बाँकी पछाडिको भाग सिमेन्टले बनेका रहेछन् । रङ्गशालाको मञ्चको मुखबाट पनि भित्र जाने बाटो बनाइएको रहेछ । मञ्चको अगाडितिर होचो भागमा केही वाद्यवादक सङ्गीतका विभिन्न सामग्री मिलाइरहेका थिए । यसबाट साँझ कुनै ठूलै सांस्कृतिक कार्यक्रम हुने छनक मिल्थ्यो ।
सङ्गीतमय यो दृश्यबाट आफ्नो ध्यान मोडेर रेडरक्स एम्पिथिएटर हेर्दै थियौँ । आकाशमा कतै एक टुक्रा बादल थिएन । स्वतन्त्र रूपमा घामका किरणले धर्तीमा आफ्नो पुरै स्वामित्व फैलाएको थियो । बढ्दो दिनसँगै हाम्रो शरीरले पनि अत्यधिक गर्मी महसुस गरिरहेको थियो । तर पनि त्यहाँ त्यो ठाडो सिँढीमा कोही बसिरहेका थिए, कोही तलदेखि माथि उल्टो हिँडिरहेका थिए भने कोही माथिदेखि तल गरिरहेका थिए । कोही रमाइलोका लागि गरेको जस्तो देखिन्थ्यो भने कोही शारीरिक व्यायामका लागि त कोही आफ्नो क्षमता प्रदर्शनका लागि त्यस्तो गरेको आभास हुन्थ्यो । कोही आफूले पालेको कुकुरसँग तलमाथि गरिरहेका देखिन्थे । हामीले हेर्दाहेर्दै एउटा मात्र खुट्टा भएकी एउटी अधबैँसे महिलाले बैसाखी टेकेर ७९ वटै सिँढी सजिलै चढिन् । यस्ता क्रियाकलाप गर्नेमा वृद्धवृद्धादेखि बालकसम्म सामेल थिए । हामी पनि यी सबै चर्तिकला हेरेर दङ्ग थियौँ । यिनै व्यायामकर्ताका बिचमा एक जना २०/२२ वर्षकी महिला टाउको तल खुट्टा माथि गरेर आउँदै थिइन् । हामी मात्र होइन, त्यहाँ जम्मा भएका सबैले उनको यो व्यायामलाई एकटकले हेरिरहेका थियौँ । ती महिला सबै सिँढी त्यसरी नै चढेर हामी बसेको नजिक आइपुगिन् । तिनलाई हेरिरहेका सबैले ताली पिटे । ती महिलाको ताकत र साहस देखेर हामी एकछिन त टोलायौँ । एकछिनपछि हामीले पनि ताली पिटेर यसमा सक्दो साथ दियौँ ।
यसैबिच कुकुरलाई बाँधेको डोरी हातमा लिएका एक पुरुषले कुकुरसहित ठुलो आवाज निकालेर माथिबाट तल उल्टो हामफाल्न थाले । एकछिन त त्यहाँ भएका हामी सबै त्रसित भयौँ । उनी अब कतिखेर डङ्ग्रङ्ग लड्छन् र टाउको फुट्छ भन्ने डरले, तर केही मिनेटमै उनले ती सबै सिँढी सजिलै पार गरे । त्यहाँ देखिएका क्रियाकलाप खेल देखाउन गरिएको होइन । सबै आआफ्ना सुरमा थिए । हामीलाई पनि त्यो टन्टलापुर घाममा कम्तीमा सिँढी त उक्लने प्रयास गरौँ भन्ने लाग्यो र मानिस हिँड्ने बाटोबाट तल झरेर हामी पनि अरूसँगै सिँढी उक्लियौँ । धन्न विश्राम नगरी माथि त पुगियो तर सजिलो चाहिँ थिएन । यो ठाउँ खास गरी संसारका धेरै ख्यातिप्राप्त सङ्गीतकार र गायकहरूले बेलाबखत आफ्नो कार्यक्रम प्रस्तुत गर्ने, त्यहाँका डाँडाकाँडामा पदयात्रा गर्ने, पुराना अवशेषहरू सङ्कलन गर्ने, योगा सिकाउने, सिँढीहरूमा व्यायाम गर्ने र पर्यटन सूचना केन्द्र आदिका कारणले अत्यन्त प्रसिद्ध रहेछ । यहाँको यस थिएटरमा कार्यक्रम प्रस्तुत गर्न अत्यन्त महँगो पनि भएकाले सानोतिनो पुँजी भएका गरिब देशका कलाकारका लागि असम्भव रहेछ ।
पर्यटन सूचना केन्द्रको तल्लो तलामा रङ्गशालाका बारेमा सम्पूर्ण जानकारी लेखिएको रहेछ । त्यहाँ लेखिएको इतिहास अनुसार त्यो रङ्गशाला सन् १९०६ मा बनेको रहेछ । खुला आकाशमुनिको यस रङ्गशालामा एकै पटक नौ हजार ५४५ जना दर्शक अटाउँदा रहेछन् । सन् १९०६ भन्दा अघि यो ठाउँ एउटा उराठलाग्दो ठुला ठुला चट्टान र रुखो डाँडा भएको बिरानो ठाउँ रहेछ । रङ्गशाला स्थापना भएदेखि आजसम्म सांस्कृतिक कार्यक्रम (कन्सर्ट) प्रस्तुत गर्नेहरू सबैको फोटो र नाम लस्करै भित्तामा लेखेर राखिएको रहेछ । विश्वप्रसिद्ध कति कलाकारले आफ्ना वाद्यवादनमा हस्ताक्षर गरेर मायाको चिनोस्वरूप त्यहाँ राख्न उपहार पनि दिएका रहेछन् । ती वाद्यवादन पनि अत्यन्त सुन्दर तरिकाले फ्रेममा सजाएर राखिएका थिए ।
रङ्गशालाको सन् १९०६ अघिको अर्थात् निर्माणपूर्वको उराठलाग्दो ढिस्कोको फोटो, आजको यहाँको भव्य अवस्था र उता आफ्नो देशमा विद्यमान सयौँ सुन्दर स्थान दिनानुदिन उराठलाग्दा बन्दै गएको सम्झिँदा मन एक्कासि विरक्तियो । मान्छेको मन यस्तो छ कि संसारको जुन कुनामा गए पनि खर्च गर्नुपर्दा आफ्नो देशको पैसासँग र कुनै पर्यटकीय स्थल घुम्न जाँदा आफ्नो देशमा भएका यस्तै ठाउँहरूसँग तुलना गर्न पुग्दो रहेछ । मैले यो उमेरसम्म यस्ता रुखासुखा डाँडा मात्र हैन, अत्यन्त सुन्दर ठाउँहरू कैयौँ देख्ने अवसर पाएकी छु । यहाँबाट तल ओर्लेर गार्डेन अफ दी गड्स, ब्यालेन्स रक, ग्रे रक, किहोल विन्डो, किसिङ क्यामेल, स्लिपिङ जायन्ट आदि हेर्दाहेर्दै साँझ परिसकेको थियो । अमेरिकाका चिप्ला सडक, ठूला ठूला चोक, अत्यन्त व्यवस्थित रूपमा बनेका मानव बस्तीहरूबाट घाम छेउछाउको पहाडका थाप्लामा पुग्न लागेका थिए । सडकमा एकनासले दौडिरहेका विभिन्न आकार प्रकारका गाडीहरू धमाधम आफ्ना आफ्ना बासस्थानतर्फ लाम लागेर गुडिरहेका थिए । साँझ विस्तारै छिप्पिन थालेको थियो । हामीले पनि आफ्नो बासस्थानतर्फ चक्का अगाडि बढायौँ ।