हातको हातै भयो मोबाइल !
चलाउने मौकै परेन । ड्याम्म छोपिएको नाम्चेलाई खिच्छु भनेर कुरेको धेरै भयो । खोइ खुलेको होइन, नाम्चे बजार ! अलिअलि कुइरो पातलिन्छ । फेरि जस्ताको तस्तै । कतिखेर फाट्ला त ? दाउ हेरिरा’छु ।
होटलबाहिरको पेटीबाट घरी यता, घरी उता गरेको नि नाघिसक्यो एक घण्टा समय । कान, ओठ, नाक र दाँत काट्ठिन थालिसके । चिसोले आँखाभरि आँसु आऊजाऊ भएको छ ।
“आज दिउँसो खुल्छ कि !” माथि झ्यालबाट ल्हामु शेर्पा बोलिन् ।
“एक हप्ता भो घाम नभाको । हिजो त खुबै पानी प¥यो । अब केही खुल्छ कि !”
माथि डाँडामा छ हामी बसेको होटल ।
सेल रोटी फन्के जस्तै गरी बसेको छ नाम्चे बजार । कचौरा जस्तो खाल्डोमा बस्तीका तह–तह छन् । वरिपरि थामसेर्कु, कुसुम काङगुरु, काङतेगा, आमादब्लम, ल्होत्से, नुप्से हिमालको ताँती छ फेरि उत्तिकै । त्यस्तै खुम्बिला, दपुचे, पुमोरी, छोयु हिउँचुचुराको लस्कर कति हो कति ! तर अहिले सबै कुहिराले निलेको छ । छोपिने र उघ्रिने भइरहेको छ एकनासले ।
मुङलाबाट राति ज्यान मात्र बोकेर म आइपुगेथेँ नाम्चे । गलेर, थाकेर, लितिपिती भएर, थिचिएर, माडिएर, माट्टिएर, गिलिपित्तिएर, पलातपलुत्तिएर अनि थाङथिलो भएर... । अर्थात् झन्डै सिद्धिएर... । हो, यस्तै यस्तै अरू सबै भएर नाम्चेको यो होटलमा भित्रिएको थिएँ ।
आगोको तातोमा जिउ केही सेकाएपछि दुई–चार सेर्कम र पाँच दाना आलु खाएँ । जिब्रो खुइल्याउने सु च्या घुड्काएपछि सुतेको थिएँ अनि ।
बाटैमा भेटिएथे लोब्साङ ।
“हिमाल कतिखेर देखिन्छ याँबाट ?”
“५ बज्दा त घामले टुप्पोमा छोएको देखिन्छ ।”
“सुनको हेर्ने कि चाँदीको ?” उनले सोधे लगत्तै मलाई नै ।
“हिमालहरू तामा, पित्तलका नि हुन्छन् त ? भए हेर्ने । कत्ति सुन र चाँदीको मात्रै हेर्नु नि !” लोब्साङले अथ्र्याए – सुरुमा सेता, कलेजी, सुनौला अनि हल्का पहेँलो भएर हिमाल टुप्लुकिने रहेछन् ।
जानै लाग्दा उनैलाई भनेँ, “कोही बुढा शेर्पा छन् यताका ? तीसँग गफ्फिनु प¥यो म । भोलि भेटाइदिनु है लोब्साङ ।”
उनले भ¥याङ ओर्लिन लाग्दा भने, “हाम्रो साङमुको बाउ छ नि छिरिङ तेन्जिङ बुढो । उसलाई भेटाइदिन्छ नि । हुन्न ?”
“हुन्छ हुन्छ । कति वर्षको बुढा हुन् छिरिङ तेन्जिङ ?” मैले सोधिहालेँ ।“असी नाघ्यो होला बुढा तर हट्टाकट्टा छ । अस्ति एउटी तरुनी कुइरेनीलाई स्याङबोचे एयरपोर्ट घुमाएर ल्याएको रहेछ । फ्लाइङ किस देको बुढोले, मैले देखेको ।” लोब्साङ हाँस्दै ओर्लिए । म पनि हाँस्दै कोठातिर लागेँ ।
०००
नाम्चे आउने मेरो रहर पुरानै थियो । धेरैचोटि आउन खोजे पनि पटक पटक बनेका योजना थन्किरहे निकै खेप ।
एक खेप ५० सालतिरै जिरीबाट म हिँड्न खोजेथेँ – हिँड्ने दिन रातभरिको पानीले बिथोलेर भोलिबाट..., पक्का भोलिबाट भनियो । अनि झोला कोठामै थन्कियो । आएन त्यो भोलि ।
अर्को चोटि उत्तम भट्टराई र म मुसे गाउँबाटै लम्किन खोजेथ्यौँ – २०६८ सालमा । बेस्सरी हिँउ परेको खबर पाएपछि भट्टराई र नयाँघरेका खुट्टा लुला भए त्यो बेला नि ।
“जाऊँ के जाऊँ । के काठमाडौँको धुलो सुँघेर, निलेर, चबाएर बसिरा’को दाइ ?” भाइ गुणराज प्याकुरेलले २०७४ सालमा खुबै जोस्याए । सगरमाथा उक्लिने रहर उनको थियो – मलाई नि तताइरहे । पछि त खोइ उनी नि सेलाए, म पनि तातिन सकिनँ ।
आज यतिका वर्ष बिते । हिमाली अलौकिक धरामा पाइला हाल्न पुगेँ म बल्लतल्ल । बिहान ५ बजे मैले झ्यालतिर हेर्दा लोब्साङले भनेको कुरा सर्लक्कै मिल्यो । कोङ्दे री हिमालको चुचुरामा थपिएको थपिएकै थियो– सुनको जलप । कुहिरो, बादल र हिमालको भिडन्त थियो । हिमाल देखिन खोज्ने, कुहिरो र बाक्लो बादल छोप्न खोज्ने । हारजित भइरह्यो निरन्तर ।
“एक झुल्को भए नि हेरियो !” मनमा पनि घाम लाग्यो खुसीको ।
राति पर्दा नलगाई सुतेको थिएँ । त्यै भएर पश्चिम–दक्षिणपट्टिबाट कोङ्दे री हिमालको छोटो मुस्कान हेर्ने मौका मिलेको थियो । जीवन यस्तै स–साना, छोटामोटा, कन्चाकन्ची र खुद्राखुद्री खुसीले कुद्ने दौड रहेछ । यस्ता गोरेटा दगुरिरहँदा ठुलो राजमार्गमा पुगेपछि मिल्दो रहेछ शान्ति । सुखले पु¥याएको शान्ति सधैँ दिगो, गहन र सार्थक हुन्छ जस्तो ठम्याइ छ मेरो ।
“अब नाम्चे मस्तले हेर्नु पर्छ !”
तातोपानी खाँदै झ्यालतिर आएँ । वरिपरि पातलो कुहिरो थियो बजारभरि । हरिया छाना भएका दुईतले ढुङ्गेनी घरको ताँतीले नाम्चेलाई छोपिसकेको लाग्थ्यो सहरको रोगनले । मूल बजारबाट पर–पर भित्तामा पुराना काठे फलेकले छाइएका छाप्राहङ देखिन्थे । ढुङ्गेनी गारो भएका ती छाप्राले पुरानो नाम्चेलाई सम्झाउँथ्यो ।
घ्वाप्प–घ्वाप्प कुइराले छोपिरहनाले नाम्चे बजार खुल्दै खुलेन क्यै गरी नि ! कुहिरो फाट्ने बाटो हेर्दै बसिरहेँ ।
०००
“खोजेको–खोजेकै सरलाई । यता पो तपाईं ?” लोब्साङले एक जना बुढा मान्छे मेरासामु ल्याएर बोले । म नाम्चे बजार मोबाइलले खिच्न वरपर गरिरहेथेँ । रोेकेर बोली आएतिर हेरेँ ।
“बेलुकी भनेको बुढा यी । छिरिङ तेन्जिङ ।”
बुढाले मलाई नमस्कार गरे ।
“जाडो छ, लु भित्र जाने हो कि ! चिया पनि खाऊँ ।” नमस्कार फर्काउँदै भनेँ । “मैले त छ्याङ च्या खाइसकँे । जाडो आउँदैन ।”
हामी गफ्फिँदै होटलको पेटी भएर आयौँ पूर्वतिरको मूल बाटोमा ।
“भित्र नपसौँ । च्याउ बेच्ने एउटी आइमाई आउँदै छ खुन्देबाट । बाटोमा बसेर कुरा गर्दा उनेरूसँग भेट्छ,” छिरिङले भने । नाइँ भन्न सकिनँ । सगरमाथामुनिको ठुलो बजार हो नाम्चे । आजभन्दा झन्डै ५०० वर्ष अघिसम्म तिब्बतबाट सरसामान लिएर आउने र बेच्ने ठाउँका रूपमा यो ठाउँ प्रख्यात थियो । तल्लो सोलुका गाउँबाट उत्पादित आलु, उवा, खुर्सानी, गहुँ यहाँ ल्याएर बेचिन्थ्यो । तिब्बतबाट भोटे नुन, घ्यू, जडबिुटी यता ल्याइन्थ्यो ।
नाम्चे अलिक ठुलो गाउँ थियो । याक, नाक र जोप्क्यो पालेर गाउँलेहरू जीवन धानिरहेका थिए । जब चोमोलोङ्माले नाउँ पायो सगरमाथा । यो बिस्तारै व्यापारिक केन्द्रका रूपमा प्रख्यात हुँदै गयो ।
छिरिङले भने, “मो चम्पा खाएर सल्लेरी दुई दिनमा पुग्थो । अचेल सक्तैन । चार दिनमा नाङपा ला नाघेर तिब्बत गएको थिएँ मो ।”
नाम्चेबाट नजिकैको तिब्बती गाउँ रहेछ नाङपा ला । यही नाङपा लाको बाटो भएर धेरै तिब्बतीहरू नाम्चे आउँदा रहेछन् ।
“हामी सामान साँटफेर गथ्र्यो । उताको भेडा, यताको आलु । उताको लसुन, यताको खुर्सानी । मलाई राम्रो थाहा छ – तीन वटी आइमाईले ऊनको तीन धोक्रामा लसुन हामीलाई दियो, हाम्रो बाउले तीन धोक्रा खुर्सानी दियो,” छिरिङले धेरै कुरा बताए ।
पहिला–पहिला नाम्चे र ल्हासाको सम्बन्ध रहेछ निकै कसिलो र खँदिलो । तिब्बतका कतिपय नाचगानसँगै चाडपर्व पनि यता मनाइने गरिँदो रहेछ । नाम्चे मास्तिरका लोबुचे, छुकुङ, मछेम्रो, फोर्चे, पाङबोचे, दिबुचे आदि गाउँका धेरै मानिसले तिब्बततिरै बिहेबारीसमेत गरेका थिए ।
नाङपा ला नाकाबाट धेरै शेर्पा तिब्बत जाने गर्थे । तिब्बतीहरू पनि नातागोता भेट्न र नाम्चे भएर झर्थे ।
“सिम्भु र लुम्बिनी जाने सबै तिब्बती यै बाटो त आउँथे,” तेन्जिङले विरक्ति पोखे ।
०००
सगरमाथामा मान्छेका पाइला परेपछि नाम्चे एकाएक बेग्लै भयो । अहिले छुर्पी, सेर्कम, छुर्सेप, स्पाक्पा वा रिल्दुक पाक्दैनन् । यहाँबाट बख्खु, दोचा, पाङदेन हराउँदै गएको छ ।
नाम्चेसँग सगरमाथा, आमादब्लम, कोङ्दे री, थामसेर्कुको मन–मुटुदेखिको नाता छ । यताको खता, खाप्से, ल्होसार र सेब्रुको बलियो साइनो छ । बिस्तारै यी हिमाली चोखा परम्परा र संस्कृतिमा घुन–किरो पस्न थालेको सङ्केत छिरिङ तेन्जिङको कुराबाट अड्कल काटेँ ।
बुढा उहिल्यै चौँरी हेर्न लेक गएको, नुन बोक्न तिब्बत पसेको कुरा सुनाइरहेथे । बाटोमा हिउँ परेर एक हप्ता नाङपा लामा रोकिएको सम्झना औँला भाँची–भाँची सुनाए ।
नाम्चेभरि लुङता हल्लिरहेको देख्ता मनमा बिछट्टै रमाइलो लाग्यो । राता, नीला, हरिया, सेता, पहेँला रङका लुङता जताततै टाँगिएका थिए । घर–घरका आँगनमा छोर्तेन फिर्फिराइरहेका थिए । बाटो किनारमा माने ठडिएथे । ढुङ्गा, रुखका फेद र पर्खालैभरि लेखिएका थिए बुद्धका अनेक अमर वाणी ।
नाम्चेमा मारकाट हुँदैनथ्यो । त्यसैले लुक्लाभन्दा धेरै तलका गाउँमै मासु काटेर डोकामा हाली ल्याइदिने नियम छ रे ! छिरिङले हँसाए, “एक चोक्टा मासुको पाँच सय पर्छ कहिलेकाहीँ त । त्यै भएर मासुसँग टाँसिएर आएको हड्डी पाउनु त झन् ठूलो भाग्यको कुरा हो ।”
मैले ५० रुपियाँ उनलाई हातमा गाँठो पारेर दिएर भनेँ, “सु च्या खानु । बोतलको नखानु ।”
उनलाई लाग्दो होला, “यस्तो भन्नेहरू कति भेटेँ कति !”
०००
म होटल फर्किंदा ११ बजिसकेको थियो । अरूहरू अझै पनि घामको तातो अँगेनाको भुङ्ग्रोबाटै लिइरहेथे । मलाई सँगैका साथीहरूले बिहानभरि निकै खोजेछन् तर म नाम्चेको बजार फन्को मारेर फर्केको थिएँ । बाटोमा भेटिएका आङ नुर्बुले भनेथे, “नाम्चेमा अहिले शेर्पा कम भए । अरू थपथाप भए । नाम्चेमा मिसमासे समाज बढेको बढेकै छ ।”
नाम्चेमास्तिर खुम्जुङ अर्को नामी ठाउँ–गाउँ रहेछ तर पनि सगरमाथा जाने मूल नाका भएकैले नाम्चेको मूल्य, महìव र मर्म बढेको हुँदो हो । नाम्चे पुगेपछि खुम्बु पुगेको एउटा जब्बरे साहस र आँट उम्रिने रहेछ । त्यसैले सगरमाथातिर जाने कि नजाने भन्ने एक सार्थक निर्णय धेरैले नाम्चे पुगेर मात्र गरेको मेरा कानले थाहा पाए ।
खुन्देका पेमा दिकी र आङ पेम्बा थुन्से बोकेर आए होटलमा । उनीहरूले थुन्सेबाट ठूला–ठूला जङ्गली राता च्याउ गुन्द्रीमा फैलाए ।
“एक हप्तादेखि खोजेर आगोमा सुकाएको । लानुस्, लानुस्,” आमा पेमा दिकीले भनिन् । स–साना छाता जस्ता राता, खैरा, सेता र पहेँला–पहेँला च्याउ टाउकामाथि लगेर ओढेँ ।
“तपाईं जन्मेको बेलामा ओढ्न हुन्थ्यो । अब त खानलाई हुन्छ,” छ कक्षा पढेका आङ पेम्बाले भने । दुई किलो च्याउ पोको पारिदिए । मैले अरू सुकेको च्याउकै सुकुटी एक किलो थपेँ ।
मैले ५० रुपियाँ बढ्ता दिएर भनेँ, “यो चाहिँ आङ पेम्बालाई एक दिनको स्कुलको खाजा । बाँकी तपैँलाई ।”
नाम्चे आज दिल खोलेर खुलेन । पानी सिमसिमाउने र कुहिरो बटारिने, हावा फुइँकिने र घ्वाप्प–घ्वाप्प बादल तल खस्ने भएर नाम्चे चिसै भइरह्यो । “ओई पेमनुरी, जी माला छ ? एउटा बेच् ल ।”
उनले छोराको पढाइभन्दा जी माला किन्ने बढ्ता रहर गरेको देख्ता मन भने बिरसिलो भएको थियो मेरो ।
बिहान गए ठाउँमा पुगेर सरर्र नाम्चे बजार हेरेँ । अहिले बजार पूरै प्रस्ट देखियो । राता, नीला, हरिया छाना गरेका चम्किला घरको ताँतीले नाम्चे पूरै रङ्गीचङ्गी देखिन्थ्यो । पारि भित्तोमा गुम्बाको गजुर झनै खुलेको देखिन्थ्यो । पश्चिमतिर केही पुराना घरहरू मरीतरी उभिएका देखिन्थे । दक्षिणतिरका पाखामा चौँरीका बथानले ढपक्कै ढाकेथे । रातै स्याउ गाले शेर्पिनीहरूका अघिपछि कुकुरका ताँती म देखिरहेथेँ बेस्सरी । स्याउ गालेहरू चिसोले चरचरी फुटेका अनुहारमा हिउँ जस्तै चोखा र सुकिला देखिन्थे । बारी, गोठ, घाँसपात र धारापानी त सँगसँगै थिए । तिनबाट छुट्टिन नमिल्ने रै’छ । अनि त गाला फुट्ने भइहाले ।
हिमाल तलको उज्यालो र अँधेरो पढ्न नाम्चे नपुगेर हुन्छ त !
“पाहुनालाई बास बस्न दियो, तन्ना मैलिन्छ । धोयो, सुकाउन हप्तौँ लाग्छ । अनि त्यत्तिकै ओछ्यायो, गन्हाउने ओछ्याइदिए भन्ने फत्तुर आइलाग्छ ।” नाम्चेका यस्ता धेरै कुरा, कथा र किस्सा छन् । यी सबै पढ्न, जान्न र गम्न केही दिन यतै हराउनु पर्छ तर मेरा लागि यो सम्भव थिएन । म हतारिएको थिएँ– फर्किनलाई ।
०००
“आज के पाकेको छ ?”
“स्याक्पा !” उत्तर आयो ।
सागपात, मासुका टुक्रा, आलुका चोइला–चोइली र अलि अलि छुर्पी हालेर चाउचाउ बेस्सरी फत्काइए छ । मैले जिब्रो खुइलाउन्जेल खाएँ । एकातिर झोल, अर्कातिर ठोस । यी दुवैले दालभातको तिर्सना मेट्ने नै भए । खाएपछि खुसी पोखेँ निमालाई । छेउमा लोब्साङ तातो चौँरीको एक गिलास दूध लिएर उभिएका थिए ।
मैले सिनित्तै पारेँ ।
“पचाउन गाह्रो हुन्छ तर आजको बाटोले पचाउन मलाई सघाउँछ ।” यति भन्दा निमा, लोब्साङ हाँसे ।
१ बज्दा हामी नाम्चे छोडेर तल ओल्र्यौं ।
धेरै आरोहीले टेकेको यो ठाउँ । धेरैका सपनाले मूर्तता पाएको यो गाउँ । धेरै आरोहीकर्ताले कल्पेको यो माटो । नाम्चेमै त हिलारी र तेन्जिङ नोर्गेले सपना बुनेका थिए होलान् ।
एक रात बिताउन पाउँदा मेरो शरीरले गड्गडिँदो खुसी कुदाइरहेको छ नसा–नसामा । आनन्दी र उल्लास हुर्काइरहेको छ– आँखा–आँखामा । हर्ष र सन्तोषको सास फेरिरहेको छ मेरो फोक्सोले । नाम्चेले दिएको गुलियो उपहारसँगै लुक्ला झरेँ म ।