• ७ जेठ २०८१, सोमबार

साफ फुटबल टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २५ गते । भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि प्रारम्भिक चरणमा बोलाएको ३० खेलाडीबाट बिहीबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अनुभवी र शहिद स्मारक ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडीलाई टोलीमा सामेल गर्नुभएको छ । रक्षक विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ । 

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् ।

यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ ।

नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साफ अघि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । 

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने  

स्ट्राईकर : आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर ।