शालिग्राम नेपाल
चितवन, जेठ २५ गते । जङ्गली जनावरले सताएको माडीका बासिन्दाको आर्थिक अवस्था होमस्टेले फेरेको छ।
लगाएको बाली चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जनावरले खाइदिने र बचेको बाली बाढीले बगाइदिने जस्ता समस्या वर्षौँदेखि भोग्दै आएका माडीवासी होमस्टे सञ्चालन हुन थालेपछि खुसी छन्। माडीवासीका होमस्टेमा पर्यटक आउन थालेका छन् भने निकुञ्जबाट आउने जनावर रोक्न तारबार र छेकबार लगाइएको छ, बाढी नियन्त्रणका लागि तटबन्धका काम भएका छन्।
बालीनालीबाहेक घरमा नै बसेर वैकल्पिक आम्दानीको स्रोत होमस्टे बनेपछि घर खर्च चलाउन सहज मात्रै भएको छैन बचत पनि हुने गरेको छ। घरमा नै फलाएको स्थानीय परिकार खुवाउने गरेपछि होमस्टेप्रतिको आकर्षण बढेको हो। होमस्टे महासङ्घ माडी नगरपालिकाका अध्यक्ष तुलबहादुर पुनले भन्नुभयो, “होमस्टेको निर्माणपछि स्थानीयको जीवनस्तर फेरिएको छ। आम्दानीको बाटो नभएकालाई पर्यटक आएर बस्ने, खानेमा उनीहरूले गर्ने खर्च स्थानीयको आम्दानीको बाटो भएको छ।”
ग्रामीण बस्तीको अनुभव लिन चाहनेका लागि चितवनको माडी उपयुक्त स्थान हो। चितवन राष्ट्रिय निकुञ्ज र चुरे पर्वतले घेरिएको उपत्यका माडीमा धार्मिक ऐतिहासिक क्षेत्र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्।
अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे समिति अध्यक्ष मोहनबहादुर पुनमगरले विदेशको जागिर छाडेर होमस्टे निर्माण गरेँ अहिले यसैको आम्दानीले घरपरिवार राम्रोसँग चलाएको छु। “बहराइनमा मासिक ७० हजार रुपियाँ कमाउने गरेको थिएँ। बिदामा घर आएका बेला होमस्टे सञ्चालनसम्बन्धी तालिम लिएँ। त्यसपछि अहिले यसै क्षेत्रमा लागेँ, राम्रो आम्दानी भएको छ,” उहाँले भन्नुभयो।
व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेकालाई फर्निचर खरिद गर्न सहयोग गरेको तराई भूपरिधि कार्यक्रम चितवन पर्सा कम्प्लेक्सका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले बताउनुभयो। पर्यटकीय क्षेत्र र निकुञ्ज आसपासका बासिन्दालाई आयआर्जनका लागि वैकल्पिक क्षेत्र पहिचान गरी निर्माण गरिएको होमस्टेले जीवनस्तर उकास्न मद्दत पुगेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो। माडी क्षेत्रमा सामुदायिक होमस्टे मात्रै ५० वटा रहेका छन्। त्यसमा एक पटकमा तीन सयभन्दा धेरै पर्यटक बस्न सक्छन्।
२०७२ पुस १२ गते स्थापना गरेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा १४ वटा घर छन् भने ती घरमा पाहुनाका लागि २९ वटा कोठा छन्।
शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन यहाँ पाहुनाको भिड लाग्ने गरेको छ। बिदाका दिनमा बस्नका लागि एक महिनाअघि नै ‘बुक’ गराउनु पर्छ। यहाँ काठमाडौँ, पोखराबाट पर्यटक आउँछन् भने समाजिक सङ्घसंस्थाबाट घुम्नका लागि आउनेका कारण खाली बस्न नपरेको उहाँले बताउनुभयो। पर्यटकलाई साँझमा म्याग्दी पर्वतमा गाउने गरेको सोरठी र मारुनी संस्कृति देखाउने गरिन्छ। यसको अलग्गै शुल्क लिने गरिएको छ।
बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले साग, सिस्नो, निउरो टिप्न जानेहरू अहिले होमस्टे सञ्चालन गरेर आम्दानी गर्न सक्ने भएको बताउनुभयो। “निकुञ्जको जङ्गलमा आश्रित समुदाय पर्यटनको क्षेत्रमा लागेर आम्दानी गरेका छन्। यसले रोजगारी सिर्जना गरेको छ,” उहाँले भन्नुभयो।
होमस्टे चलाउने र बोटे संस्कृति देखाएर त्यसबाट आम्दानी गर्ने, सरसफाइ व्यवस्थापन गर्ने सबैले आम्दानी गर्न सक्ने भएकाले हाम्रा लागि होमस्टे राम्रो आम्दानीको बाटो भएको बताउनुभयो।
होमस्टे सञ्चालनमा आएपछि रोजगारीका लागि बाहिर जान नसक्ने र घरमै बसेर आयआर्जन गर्न चाहनेका लागि धेरै फाइदाजनक भएको छ। थारू होमस्टे सञ्चालन गर्दै आएको बगौडा सामुदायिक होमस्टेका अध्यक्ष रजपतिया चौधरीले भन्नुभयो, “घरायसी कामका लागि समूहबाट हरेक महिना एक/दुई हजार रुपियाँका लागि पनि ऋण लिनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्या छैन।”
पर्यटक कम भएको महिनामा पनि ४० देखि ५० हजार रुपियाँ र सिजनमा एक लाख रुपियाँसम्म कमाइ हुने उहाँले बताउनुभयो।
होमस्टेका लागि चितवनको माडी लोकप्रिय रहेको छ। माडी क्षेत्रमा रहेका होमस्टेले एउटै शुल्क लगाउने गरेका छन्। त्यसका लागि नियम बनाइएको छ।
होमस्टेमा एक रात बास बसेको छ सय रुपियाँ लाग्छ। एउटा कोठामा तीन जना सुत्न मिल्छ। एसीसहितको व्यवस्था छ। सादा खानाको १५० र मासुसहितको खाना २५० देखि तीन सय रुपियाँसम्म पर्छ। बिहानको चिया खाजाको सय रुपियाँ लाग्छ।
माडीमा पुनमगर, थारू, बोटे, दराई, दुरा र ब्राह्मण समुदाय गरी छ वटा समुदायको होमस्टे सञ्चालनमा छ। यीबाहेक दुई जनाले व्यक्तिगत रूपमा होमस्टे सञ्चालनमा ल्याएका छन्।