काठमाडौं, जेठ १५ गते । सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रुपियाँ बढी बजेट विनियोजन गरेको हो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताउनुभयो ।