• १३ साउन २०८१, आइतबार

दुई सय मिटरमा मकवानपुरलाई दुई स्वर्ण

blog

दुई सय मिटर दौडमा उपाधि विजेता दिना गोपाली (बीचमा) । तस्बिर : गोरखापत्र

राममणि दाहाल 

हेटौँडा, जेठ ९ गते । हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका ५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा मङ्गलबार भएको सो प्रतिस्पर्धामा महिलातर्फ दिनाले र पुरुषतर्फ जिकेशले पुरुषमा स्वर्ण हात पार्नुभएको हो । उक्त दुरी दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्डमा तय गर्नुभएको आयोजकले जनाएको छ ।

महिलातर्फ भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गर्नुभएको छ । पुरुषतर्फ मकवानपुरकै सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कांस्य पदक पाउनुभएको छ ।

महिलातर्फ ८०० मिटर दौडमा ललितपुरकी रजिना दुलालले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा स्वर्ण पदक प्राप्त गर्दा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जित्नुभयो । यसै विधाको पुरुषतर्फ चितवनका अमृत बोटले दुई मिनेट ८ सेकेन्डमा उक्त दुरी तय गरी स्वर्ण पाउनुभएको छ भने सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल हुनुभएको छ ।

पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले स्वर्ण,  काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक प्राप्त गर्नुभएको थियो । यसै विधाको महिलातर्फ पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदकमा चित्त बुझाउनु परेको छ ।

महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण, चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जित्नुभएको छ । आयोजकका अनुसार पुरुषतर्फको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुषको सटसुटमा चितवनका ललित राउतले स्वर्ण पदक, रामेछापका प्रचण्ड ढुङ्गेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्नुभएको छ । महिलातर्फकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण, सिन्धुलीकी प्रमीला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जित्नुभएको छ ।