• १३ असोज २०८१, आइतबार

भत्काइयो ‘लिम्बुवान गेट’

blog

राधा लुइटेल

फिदिम, वैशाख २८ गते । सदरमुकाम फिदिमको मुख्य लाइनमा अवस्थित मेन गेट भत्काइएको छ । गेट मेची राजमार्गको विस्तारका क्रममा भत्काइएको हो ।

उक्त गेट पञ्चायती व्यवस्था सुरुवात भएको २५ वर्ष प्रवेशका अवसरमा रजत वर्ष मनाउने अवसरमा तत्कालीन जिल्ला पञ्चायत पाँचथरले लगानी गरेर निर्माण गरेको थियो । पहिले ‘मेन गेट’ नामले परिचित उक्त गेटलाई २०६२/६३ सालको जनआन्दोलनपश्चात् सङ्घीयता पक्षधरहरूले रङ रोगन गरी ‘लिम्बुवान गेट’ नामकरण गरेका थिए ।

फिदिम बजारहुँदै अगाडि बढेको मेची राजमार्ग चौडासँगै कालोपत्रे गर्ने काम सुरु भएपछि पहिचान पक्षधरहरूले गेट हटाउन नहुने अडान राखिरहेका थिए । लिम्बुवान गेट व्यवस्थापन समितिका संयोजक मधुराज केरुङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले तत्काललाई गेट भत्काउन इलाम सडक डिभिजन कार्यालयलाई जिम्मा दिने निर्णय गरेलगत्तै भत्काइएको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेले बताउनुभयो । 

गेट भत्काउन यान्त्रिक कार्यालयको एक्साभेटर प्रयोग गरिएको थियो । उक्त गेटले फिदिम बजारको परिचय र पहिचान झल्काएको भन्दै अन्यत्र सोही प्रकृतिको निर्माण गर्नुपर्ने व्यवस्थापन समितिको माग छ । सङ्घर्ष समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुख र उद्योग वाणिज्य सङ्घका पदाधिकारी सम्मिलित बैठकले ठाउँ पहिचान गरेर फिदिम बजारको प्रवेश बिन्दुमा सोही प्रकृतिको गेट निर्माण गर्ने सहमतिसमेत गरेको छ ।