• १३ असोज २०८१, आइतबार

दमक झडपको ताजा विवरण : १० प्रहरी सहित २२ जना घाइते

blog

दमक, वैशाख २७ गते । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलबार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाढादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ ।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । गोली चलेजस्तो आवाज सुनेपछि दमक बजार क्षेत्र साँझमा नै बन्द भएको थियो ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुईजना आन्दोलनकारी गम्भीर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताउनु भयो । आन्दोलनमा उत्रिएका आफ्ना थप अन्य १० जना घाइते भएको पनि उहाँले दाबी गर्नु भयो ।

गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो घाइते बन्नु भएको उहाँले जानकारी दिनु भयो । घाइते दुवैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको जनाइएको छ । एक जनाको खुट्टामा र अर्को जनाको हातमा चोट रहेको छ ।

यसै गरी घाइते प्रहरीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । साँझदेखि सुरु भएको झडप बेलुका अबेर मात्र रोकिएको थियो । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो पनि पढ्नुहोस
Author

विष्णुप्रसाद पोखरेल