• १३ असोज २०८१, आइतबार

आँगनमै पानीको पाइप तैपनि सङ्कट

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख २७ गते । बुढीगङ्गा गाउँपालिका–१, करैया बस्तीका ८२ घरपरिवारको पिँढीमुनि मानगढ खानेपानी आयोजनाको  पाइप छ । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३, पुष्पलाल चोकदेखि नजिक रहेको बुढीगङ्गाको करैया बस्तीका बासिन्दा भने घोक्रो सुनाएर पानी मागिरहेका छन् । 

मुखिया, माझी, सरदार, चौधरी र मगरका ४० घर छन् । त्यसपछि ऋषिदेव टोलमा ४२ घर छन् । करैया बस्तीका स्थानीय अजय मुखियाका अनुसार ८२ घरलाई अहिले पानीको सङ्कट छ । घर घरमा गाडिएका ट्युबवेलमा तीन वर्षदेखि गर्मीयाममा पानी आउँदैन । 

भूमिगत जलस्रोतमा निर्भर रहेर बसोबास गर्दै आएका ती परिवारका लागि तीन वर्षयता पानीको अभाव सुरु भएको हो । बर्सातपछि ट्युबवेलमा मात्रै नभएर घरमा पनि पानी जम्छ । गर्मीयाममा भने बस्तीदेखि ट्युबवेलसम्म पानीविहीन छ ।

स्थानीयवासी तथा पूर्ववडा सदस्य बलबहादुर मगरका अनुसार तीन वर्षअघि आरती स्ट्रिप्स उद्योगले रडको प्लान्ट स्थापना गरेको थियो । त्यसपछि जमिनमुनिबाट पानीको स्रोत उद्योगमा जडान गरिएको छ । डिप बोरिङमार्फत फलाम उद्योगमा चिस्यान प्लान्टका लागि पानी तानेपछि बस्तीमा विस्तारै सङ्कट आउन थालेको हो । उद्योगमा एउटा नहर बग्नेबराबरको पानी तीनवटा डिप बोरिङले तान्ने गरिएको छ । उद्योग र बस्तीको दूरी पाँच सय मिटरमा छ । 

ट्युबवेलबाट पानी खान नपाएका ती परिवारको घरमुनि भने मानगढ खानेपानी आयोजनाको पाइप छ । मानगढले त्यही बस्तीबाट सशस्त्र प्रहरीको ३ नम्बर गणमा पानी आपूर्ति गरेको छ । आसपासका बस्तीमा जाने पानीको लाइन पनि त्यही बस्तीनजिक छ तर त्यो बस्तीका बासिन्दालाई पानी दिन आयोजनाले लालपुर्जा खोज्ने गरेको छ । जग्गाको लालपुर्जा नहुँदा घरमुनिको पाइपमा आएकोे पानीको आवाज सुनेर उनीहरू घोक्रो सुकाइरहेका छन् । 

विसं २०२१ देखि बसोबास गर्दै आएका पूर्ववडा सदस्य मगरका अनुसार ८२ घर बसोबास रहेको करैया बस्ती अर्कैको निजी स्वामित्वको जग्गा हो तर चार पुस्तादेखि त्यहीँ बसोबास गर्दै आएका उहाँहरूका लागि अन्त सर्ने अवस्था छैन । मानगढ खानेपानी आयोजनाले उहाँहरूको पिँढीमुनिबाट पानीको पाइप विस्तार गरे पनि लालपुर्जा नहुँदा धारा जडान गरेको छैन । 

करैया बस्तीकै देवी मगरले २२ हजार रुपियाँ बुझाएर मानगढको धारा जडान गर्ने प्रव्रिmया अगाडि बढाउनुभएको छ । पानी जोड्दा ८२ घर नै निर्भर हुने डरले आयोजनाले भने धारा दिएको छैन । बुढीगङ्गा गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचित गराएका उहाँहरूलाई चुनावमा डिप बोरिङमार्फत पानीको व्यवस्था गर्ने आश्वासन दिइएको थियो । अहिले स्थानीय तहका जनप्रतिनिधिले भने अर्काको स्वामित्वको जग्गामा बसेर पानी पिउन नपाउने भन्दै बस्ती उठ्नुपर्ने सुझाव दिन थालेको आरोप छ । 

दैनिकजसो वडा कार्यालयमा पुगेर पानीका लागि गुहार माग्दै आएका स्थानीय बासिन्दा मङ्गलबार भाँडावर्तनसहित वडाध्यक्ष सोमराज काफ्लेको कार्यकक्षमा पुगेका थिए । वडा कार्यालय पुगेका महिलाले एक बाल्टिन पानी उपलब्ध गराइदिन माग गरेका थिए । वडाध्यक्ष काफ्लेले सबै घरधुरी एउटा सार्वजनिक धारा जडान गर्न सहमत भए मानगढको पानी उपलब्ध गराउन सक्ने आश्वासन दिएको स्थानीयवासी बताउँछन् । 

अर्काको निजी स्वामित्वमा घर बनाएर बसेकाको घरमा पानी नजोडिएको वडाध्यक्ष काफ्ले  बताउनुहुन्छ । “बस्तीका बासिन्दा कुरा बुझ्दैनन्, पुग्नुपर्ने ठाउँभन्दा अन्तै धाइरहेका छन्,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसमक्ष नै पुगौँला जस्तो गरिरहेका छन् तर प्रव्रिmया के हो बुझिरहेका छैनन् ।”