काठमाडौं, वैशाख २५ गते । उपाधि दावेदार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टैली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।
मनाङका लागि रोशन रानामगरले ३३औं र सइद आजमल डाभोल्टातेजनोले ४४औं मिनेटमा गोल गर्नुभयो । पुलिसका लागि अहमद हिजाजीले १६औं र ७१औं मिनेटमा दुई गोल गर्नुभयो । बराबरीसँगै मनाङले १६ खेलबाट २० अङ्क बनाएको छ । पुलिसको समान खेलबाट १६ अङ्क पुगेको छ ।
यस्तै च्यासल मैदान भएको अर्को खेलमा फ्रेन्ड्सले एफसी खुमलटारलाई ३–१ गोलले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र १६औं मिनेटमा गोल गर्नुभयो । अर्को गोल सन्तोस खत्रीले ७८औं मिनेटमा थप्नुभयो ।
खुमलटारका मिसुकेले ६७औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै फ्रेन्ड्स १६ खेलबाट १९ अङ्क बनाएको छ । खुमलटारको समान खेलबाट १७ अङ्क छ ।