• ५ जेठ २०८१, शनिबार

आ.व. २०८०/८१ मा बजेटको सिलिङ नघटाऔँ : सांसद पौडेल

blog

संसद् भवन नयाँबानेश्वरमा सोमबार बसेको बैठकमा आगामी बजेटको प्राथमिकतासम्बन्धी छलफलमा मन्तव्य राख्नुहुँदै सांसद देवेन्द्र पौडेल । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं, वैशाख २५ गते । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिनुहुँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गर्नुभएको हो । उहाँले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउनु नहुने बताउनुभयो । सांसद पौडेलले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिनुभयो ।

‘‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरूलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ । डराउनु हुँदैन ।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘त्यसकारणले वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरूलाई, बेरुजुहरूलाई नियमन गर्नेकुरा, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने कुरा र अर्थप्रणाीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्ने कुरा ठूलो होइन । मैले सुनेको गत वर्षभन्दा एक खर्बभन्दा कममा बजेट आउँदैछ, मन्त्रीज्यूहरूले हामी जाँदाखेरी पैसा छैन मात्रै भन्नुहुन्छ । अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध के छ भने तपाईँले आँट गर्नुस् । संसारभरिका सम्भावना भएका खोजौँ । नेपाल भित्रका सम्भावना पनि हामीले खोजौँ । त्यसो गरियो भने सम्भव छ ।’’

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई, दुईवटा भए पनि राम्रो काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले ठूला ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभूत गर्नेखालका काम हुनुपर्ने जानकारी दिनुभयो ।