• १३ असोज २०८१, आइतबार

सडक स्तरोन्नति नहुँदा सास्ती

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख १० गते । नेपाल सरकारले यसअघि नै घोषणा गरेको सय पर्यटकीय गन्तव्य स्थलमध्येको एक उदयपुरगढी पनि हो तर ऐतिहासिक तथा पुरातात्त्विक  महत्व बोकेको उदयपुरगढी बाह्य पर्यटकको मात्र होइन आन्तरिक पर्यटकको समेत गन्तव्य स्थल बन्न सकेको छैन। 

प्राकृतिक सम्पदा र ऐतिहासिक महत्वले भरिपूर्ण भए पनि त्यहाँसम्म पुग्ने नेपालटार गढी नौ किलोमिटर सडक निर्माण नहुँदा जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न नसकेको हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा छुट्टै पहिचान बोकेको ऐतिहासिक उदयपुरगढी गाउँपालिकाको केन्द्र पनि हो तर २०२३ सालमै पहिलो ट्र्याक खुलेको नेपालटार–उदयपुरगढी सडक स्तरोन्नति हुन नसक्दा पालिकाको केन्द्रसम्म जान पनि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

पालिकाको केन्द्रसम्म मुस्किलले ट्याक्टर मात्र जाने गरेको छ। उदयपुरगढीमा २०२३ सालमा पहिलो पटक जिप पुगेको थियो। जिल्लाको सदरमुकाम रहेको तत्कालीन समयमा सप्तरीको फत्तेपुर, गाईघाट, नेपालटार हुँदै त्यहाँ जिप पुगेको स्थानीय बोधकुमार घिमिरेले बताउनुभयो।

मदन भण्डारी लोकमार्गसँग जोडिएको नेपालटार बजारबाट नौ किलोमिटरको दूरीमा रहेको उदयपुरगढीसम्म पुग्ने सडकको स्तरोन्नति नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई गढीसम्म आउन सास्ती हुने गरेको छ। सडक स्तरोन्नतिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत २०७७ चैत १ गते समझदारीपत्रमा हस्ताक्षर भए पनि काम सुरु हुन नपाउँदै सो योजना रद्द गरिएपछि उदयपुरगढी ओझेलमा परेको हो।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र उदयपुरगढी गाउँपालिकाबीच नौ किलोमिटर सडक स्तरोन्नति अर्थात् कालोपत्रे गर्ने समझदारीपत्रमा हस्ताक्षर भए पनि काम हुन नसकेको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो। सडक कालोपत्रे गर्न करिब २७ करोड अनुमानित लागत इस्टमेट तयार भएको थियो। नेपाल सरकारले छ वर्षअघि नै आर्थिक वर्ष २०७८/७९ सम्ममा सबै गाउँपालिका केन्द्रसम्म पुग्ने सडक उतरोन्नति गरी कालोपत्रे गरिसक्ने योजना अघि सारेको भए पनि उदयपुरगढीको योजना नै सरकारले कटौती गरेको उहाँले बताउनुभयो।