• ७ जेठ २०८१, सोमबार

ओमानमाथि नेपालको सानदार जित

blog

ओमानको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख ८ गते । ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो । 

जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाउनुभयो ।

यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो ।

यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो । 

उहाँले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गर्नुभएको हो । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो ।


खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोड्नुभएको हो । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एकदिवसीय इतिहासकै उच्च योगफल पनि हो ।


नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खुल्नुभयो । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेल्नुभएको थियो। उहाँले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । उहाँको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।


उहाँ समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुनुहुन्छ । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हान्नुभएको थियो । 

यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।


भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो । 

बलिङमा ओमानका आयन खानले दुई विकेट लिनुभयो । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिनुभयो ।


समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै चार अंक बनाएको नेपाल समूहको शीर्षस्थानमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । 


एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ । 

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अर्को खेलमा हङकङले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ लेविस (डिएलएस) मेथोडका आधारमा ६७ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओधभरमा आठ विकेटको क्षतिमा दुई सय ७३ रन बनाएको थियो ।

दुई सय ७४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा युएईले २७ ओभरमा ६ विकेटको क्षतिमा एक सय १७ रन बनाउँदा हाबाहुरीले खेल रोकिएपछि डिएलएस मेथोडबाट हङकङ विजयी भएको हो । लगातार दोस्रो जितसँगै हङकङले समूह ‘बी’ मा चार अंक बनाएको छ । 

ओमानविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।