• १३ साउन २०८१, आइतबार

वसन्तपुरमा पर्यटन महोत्सव र फोटो प्रदर्शनी

blog

फोटो प्रदर्शनी अवलोकन गर्दै । तस्बिर: केशब गुरुङ

काठमाडौं, वैशाख १ गते। नयाँ वर्षको अवसरमा मल्टिमिडिया ग्रुपले काठमाडौं वसन्तपुरमा पर्यटन महोत्सवको आयोजना गरेको छ। दुई दिनसम्म चल्ने महोत्सवमा शुक्रबार पर्यटनसँग सम्बन्धित छ वटा समूहमा छलफल भएको छ। महोत्सवका संयोजक विष्णु विश्वकर्माका अनुसार थप छ वटा समूहमा शनिबार छलफल हुनेछ। 

दुई दिने महोत्सवमा ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ लगायतका सेसन सञ्चालन भएका छन् । महोत्सवको उद्घाटन सेसन ‘पर्यटन प्रवचन’ पर्यटन व्यवसायी कर्ण शाक्यले गर्नुभयो । माटो, बाटो र दोबाटो, व्यावसायिक पर्यटन, रहर सहर, सम्पदा पर्यटन, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास र पर्यटनमा जलवायु परिवर्तनको असर शीर्षकमा छलफल भएका छन् । 

पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवकै अवसरमा वसन्तपुर क्षेत्रमा फोटो प्रदर्शनी गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को आयोजनामा नेपालको पर्यटन झल्किने ६० वटा तस्बिर प्रदर्शनीमा राखिएको फोटो प्रदर्शनीका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

प्रदर्शनीमा नेपालको पूर्वदेखि पश्चिमसम्मका महत्वपूर्ण पर्यटकीय गन्तव्यका तस्बिर समेटिएको छ। प्रदर्शनी नेपाल पर्यटन बोर्डको सहयोग र जरुवाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।