• ९ मंसिर २०८१, आइतबार

फिल्म 'हल्कारा'मा वैदेशिक रोजगारीको कथा

blog

काठमाडौं, चैत ३० गते । वैशाख २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको दुई मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाइएको छ । फिल्ममा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ ।

फिल्मलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । 

महेश त्रिपाठी र विनीता थापा मगरको प्रमुख अभिनय रहेको फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ । यस्तै, फिल्ममा विप्लव प्रतीक र आकाश बरालको सह–लेखन छ । फिल्ममा महेश र विनीतासँगै शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ।

फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्जनात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताउनुभयो । 

“यो चलचित्र मेरो लागि एक महत्त्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएका छन् । मैले पनि यसमा साँच्चिकै अभिनय गर्ने मौका पाएको छु”, अभिनेता त्रिपाठीले भन्नुभयो । 

यस्तै, अभिनेत्री थापाले आफूले वर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो चलचित्रमा देखाउने मौका पाएको बताउनुभयो ।