• १३ असोज २०८१, आइतबार

सामुदायिक विद्यालयको पुस्तक आइपुग्यो

blog

जिल्लामा पाठ्यपुस्तक आइपुगेपछि भण्डारणको कार्य गर्दै व्यवसायी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २९ गते ।
 ताप्लेजुङमा सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तक आइपुगेको छ । जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मकै सबै पाठ्य पुस्तक आइसकेको जनाएको हो ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रले सबै पाठ्यपुस्तक जिल्लामा आइपुगेसँगै आज (बुधबार)देखि बिक्री वितरण सुरु गर्ने बताउनुभयो । अध्यक्ष मिश्रका अनुसार कक्षा १ देखि १० सम्मको प्रत्येक विषयको दुई–दुई हजार सेटका दरले पाठ्यपुस्तक आएको छ । आवश्यकता अनुसार थप पुस्तकसमेत ल्याउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष नयाँ शैक्षिक सत्र सुरु नभई जिल्लामा सामुदायिक विद्यालयको पाठ्यपुस्तक आइपुगेकाले विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तकको तनाव नहुने भएको महासङ्घका उपाध्यक्ष केशवप्रसाद भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार विगतदेखि नै महासङ्घले जिल्लामा सामुदायिक विद्यालयको पाठ्यपुस्तक समयमै ल्याएर बिक्री वितरण गर्ने प्रयत्न गरिरहेको छ । महासङ्घको प्रयत्नअनुसार हालसम्म कक्षा १ देखि १० सम्मकै अनिवार्य तथा ऐच्छिक विषयका पाठ्यपुस्तक ल्याएर बिक्री वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

महासङ्घका अनुसार आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्मको केही हप्ता पहिले नै जिल्लामा पुस्तक आएकाले केही विद्यालयले आवश्यक पर्ने पाठ्यपुस्तक लगिसकेका छन् । जिल्लाभरका अधिकांश सामुदायिक विद्यालयले महासङ्घले बिक्री वितरण गर्दै आएको केन्द्रबाट नै पाठ्यपुस्तक लैजाने गरेका छन् । सोहीअनुसार यस वर्ष पनि विद्यालयहरूले पाठ्यपुस्तकका लागि निरन्तर सम्पर्क गरिरहेका महासङ्घका उपाध्यक्ष भट्टराईले बताउनुभयो ।