डोल्पा समाचारदाता
डोल्पा, चैत २८ गते । दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।
नगरप्रमुख सुवर्णकुमार बुढाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामाजिक अभियन्ता र नगर कर्मचारीद्वारा भेरी नदीको फोहोर उठाउने कार्यको थालनी गरिएको छ। दुनै बजारको बीचभाग भएर बग्ने भेरी नदीको दुवैतर्फ बनेका घरका शौचालयको सेफ्टी ट्याङ्कीको पाइप सिधै नदीमा जाने गरेको र व्यवसायीले समेत फोहोर नदीमा नै फ्याँक्दै आएका छन्। जसका कारण नदी ढलमा परिणत भएको छ।
अभियन्ता योगेन्द्र बुढाका अनुसार भेरी नदी सरसफाइका लागि दीर्घकालीन योजना बन्न आवश्यक छ। ढल निकासको व्यवस्थित व्यवस्थापन आवश्यक हुन्छ। दुनै बजार फोहोरबाट मुक्त बनाउन नागरिककै सचेत अभियान आवश्यक हुने धारणा उहाँको छ। उहाँले नगरले थालेको यो अभियानमा स्थानीयवासीको संलग्नता नरहेसम्म पाहुनाका रूपमा सहभागीले एक दिन गरेको सरसफाइले दुनै बजार र भेरी नदी स्वच्छ बन्न नसक्ने बताउनुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव लम्सालका अनुसार स्वच्छ र सुन्दर नगर बनाउन टोलटोलमा सरसफाइ समिति गठन गरिनेछ। आमा समूह, बाल क्लब, युवा क्लबसमेतलाई संलग्न गराई नागरिककै सहभागितामा सरसफाइसम्बन्धी सचेतना अभियान सञ्चालन गरिनेछ।