बाबुराम शर्मा
दोलखा, चैत २८ गते । भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ । सरकारी उदासीनताले कम्पनी बन्द भएको चार दशक बितिसक्दा पनि नखुलेको स्थानीयले आरोप लगाएका छन् ।
बन्द भएको ४३ वर्ष बितिसक्दा पनि कम्पनी खुल्न नसक्नुमा सरकारी उदासीनता हो । स्थानीय भुवन केसीले भन्नुभयो, कि सरकारले आफैँ चलाउन पर्छ, कि अरूलाई जिम्मा लगाउनु पर्छ । सरकार मुखदर्शक भएर बसी दिनाले करोडौँको लगानी खेर गइरहेको छ । मुलुकमा यस्ता खाले उद्योग नखुल्दा युवा बिदेसिन बाध्य भएका हुन् । घर आँगनमा आएको सरकारले पनि वास्तासम्म पनि गरेन ।
उत्पादित वस्तुले उचित बजार नपाएको तथा लगानीकर्ताबिच विवाद समेत रहेकाले बन्द हुन पुगेको बताइएको छ । त्यस बखत तीन अर्ब ५२ करोड लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योग नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा एन्ड्रस्ट्रिज लिमिटेडको साढे १२ र नेपाली लगानीकर्ता मोहन गोपाल खेतानको साढे १२ प्रतिशत लगानी रहेको छ ।
भारतीय लगानीकर्ताले आफ्नो सेयर तीन करोड ७५ लाख रुपियाँ मागेको र नेपाल सरकारले भने चुक्ता गरिसकेको जनाएको छ । नेपाल सरकारले उद्योगमा बढी सेयर लगानी गर्ने मोहन गोपाल खेतानलाई उद्योग सञ्चालन गर्न दिएको थियो तर उहाँको देहावसान भएकाले कार्य अगाडि बढ्न नसकेको बताइन्छ ।
यो म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि लामो साँघुसम्म लैजान २०४० सालमा १६ करोडमा ८७ वटा रोपवे निर्माण गरिएको भए तापनि ती रोपवे सञ्चालन गरेको एक हप्ता नबित्दै बिग्रिएपछि थन्किएका छन् । मर्मत गर्नु सट्टा कम्पनीले महँगोमा ट्रिपरमार्फत खरी ओसार्यो । जापानबाट ल्याएका ती रोपवे भारतको कलकत्तामा साटेर नक्कली सामान ल्याएका कारण बिग्रिएको हो ।
सामान साटेर एक दुई व्यक्ति मोटाए होलान् तर सिङ्गो राष्ट्रलाई नै डुबाएको स्थानीय वेदबहादुर केसीले आरोप लगाउनु भएको छ ।
यो उद्योगमा रोपवे मात्र होइन खानी क्षेत्रभित्र निर्माण गरिएका थुप्रै संरचनाहरू बेवारिसे अवस्थामा रहेका छन् । तत्कालीन द्वन्द्व अवस्थामा आगजनी गरी खरानी बनाइएको छ । खानी परिसरमा चार वटा डोजर, १२ वटा ट्रिपर र होल खोप्ने तीन वटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् ।
उद्योगका भौतिक संरचनामध्ये एक नम्बरमा सुरक्षाकर्मी बसेका छन् । चार पाँच जना चौकीदार मात्र भेटिन्छन् । उद्योग सञ्चालनका बखत पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । कार्यालयमा समेत अझै ४४ कर्मचारी रहेका छन् । तिनीहरूलाई सरकारले तलब भुक्तानी गर्दै आएको छ । कतिपय संरचना भग्नावशेषमा परिणत भएका छन् । द्वन्द्वका क्रममा माओवादीले सवारी साधन र केही भवनमा आगजनी गरेका थिए । तत्कालीन सरकारले यो कम्पनीलाई २०५९ सालमा रुग्ण उद्योग घोषणा गरेको थियो ।
स्थानीयहरूका अनुसार २०५० सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । यो अवधिमा लाखौँ टन म्याग्नेसाइट र सोही परिमाणमा खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
खानी बन्द भएको ४३ वर्ष बितिसक्दा पनि व्यवस्थित रूपमा खानी सञ्चालन गर्नेतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । कुनै पनि खानी परीक्षणको अवधि कति हुन्छ ? नेपाल ओरियन्ड म्याग्नेसाइट खानी ४३ वर्षसम्म नमुना परीक्षणकै नाममा लाखौँ टन खरी तथा म्याग्नेसाइट लगेर सरकारले पनि झोक्याएको छ । खानी सरोकारवाला समिति संयोजक केसीले दुखेसो पोख्दै भन्नु भयो, यसको गुणस्तर कस्तो छ भन्ने कोही कसैलाई पत्तोसमेत छैन । खानीबारे स्थानीय निकाय बेखर छँदै छ, उद्योग मन्त्रालय र खानी विभागलाई पनि थाहा छैन ।
साबिक लाँकुरी डाँडा गाविस आसपासमा दशकौँअघि पत्ता लागेको खानी २०३६ सालमा स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरे पनि जबरजस्ती चार हजारभन्दा बढी क्षेत्रफलबाट अव्यवस्थित रूपमा म्याग्नेसाइट र खरी निकालेको छ । ती खनिज पदार्थ उत्खनन गर्दा निस्किएको माटो जथाभाबी फ्याँक्दा भूक्षय खानी आसपासका सयौँ नागरिक प्रभावित भएका छन् । कतिपय घरबारी छोडेर हिँड्न बाध्य छन् ।
कम्पनीले पछिल्लो चरणमा अधिग्रहण गरेको जग्गाको मुआब्जा जग्गा धनीले पाएका छैनन् । खानीपीडित सरोकार समिति संयोजक केसीका अअनुसार उद्योग स्थापना हुनुअघि खरिढुँगामा बसोबास गर्दै आएका ७० घरपरिवारको छ सय रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी दुई हजार पाँच सय रुपियाँका दरले दिइएको थियो । पछि अधिग्रहण गरिएको तीन हजार चार सय रोपनी जग्गाको मुआब्जा पाएका छैनन् ।
यस विषयमा पटक पटक जिल्ला प्रशासन कार्यालय र नापी कार्यालयमा धाउँदासमेत सुनुवाइ हुन सकेको छैन । बहुमूल्य खनिज रहेको जग्गा कवाडीकै मूल्यमा गएकाले स्थानीयवासी अहिले आफैँ समस्याग्रस्त अवस्थामा रहेका उहाँले बताउनु भयो ।
उद्योगभन्दा केही तल बसोबास गर्दे आएका स्थानीयवासी उद्योगबाट फालिएको माटोले खेतीयोग्य जमिन पुरिनुका साथै पहिरोबाट समेत विस्थापित भएका छन् । स्थानीय फुर्वा तामाङले भन्नु भयो,केही घरहरू त बस्नै नहुने भएका छन् । जग्गादाता समेत रहेकाहरूले फाइदा पाउनुको सट्टा विस्थापित हुनु परेको छ । हाम्रो समस्या बुझिदिने कोही भएन ।
म्याग्नेसाइट उद्योगबाट साबिक लाँकुरी गाविस वडा नम्बर ७, बोच गाविसको १,मागापौवा गाविस ४,भीमेश्वर नगरपालिकाको ५ र सिन्धुपाल्चोकको जेठल गाविसका जनता प्रत्यक्ष प्रभावित भएका छन् । कम्पनी स्थापना गर्दा स्थानीयवासीको लागि शिक्षा, स्वास्थ्य,रोजगारी जस्ता कुरामा सहयोग गर्ने प्रतिबद्धता गरिएको भए पनि ती कुरा पूरा हुनुको साटो उल्टै दुख पाएको स्थानीय नजरमान तामाङले गुनासो गर्नु भयो ।