चरीकोट समाचारदाता
चरीकोट, चैत २८ गते । दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले राज्यको स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
राज्यको स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई अबको शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो। विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन र विद्यार्थीको सङ्ख्यामा वृद्धि गर्न यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले सामुदायिक विद्यालयको शैक्षिक स्तर र विद्यार्थीको सङ्ख्या घट्दै गएकाले यो निर्णय गरिएको बताउनुभयो।