• २२ वैशाख २०८२, सोमबार

‘ऋण नतिर्न छुट हुँदैन’

blog

काठमाडौँ, चैत २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको छ। अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग सोमबार सिंहदरबारमा आयोजित छलफलमा बैङ्कको ब्याजदर घटाउने उपाय खोजिएको तर ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बैङ्क ऋण लिने तर तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।” साथै अनुगमनलाई मात्र कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने र घर–जग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन नहुने उहाँको दाबी छ।

बैङ्कको ब्याजदर घटाउने उपाय खोजिएको र अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बैङ्कको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ। अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।” हाल विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको उहाँले बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले नयाँ बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्ने बताउनुभयो। सरकार र निजी क्षेत्रले एक–अर्कालाई आरोपित गरेर समस्या समाधान नहुने चर्चा गर्दै प्रधानमन्त्रीले सहकार्यले मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सकिने बताउनुभयो। 

उहाँले भन्नुभयो, “अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै  कारण जिम्मेवार छन्। भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायतका कारण छन्। आयात, निर्यातसम्बन्धमा भएका सीमाका कारण पनि छ। राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न सरकार गम्भीर रूपमा लागेको छ।” 

विभिन्न बैङ्कका कार्यकारी अधिकृतलगायत बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिले बैङ्क र कर्मचारीको सुरक्षामा सरकारले ध्यान दिन र व्यवसायी एवं आमनागरिकको चासो सम्बोधनका लागि आग्रह गर्नुभएको थियो। 

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम रायलगायतका पदाधिकारीको उपस्थित थियो।