• १० पुस २०८१, बुधबार

तटबन्ध लगाएर जोगाइँदै खुलालुको बस्ती

blog

बाढीको उच्च जोखिममा रहेको खुलालु बस्ती सुरक्षाका लागि तटबन्ध गरिँदै । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, चैत २७ गते । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. २ खुलालुको बस्ती बाढीको उच्च जोखिममा छ । उक्त बस्तीलाई अहिले तटबन्ध गरेर सुरक्षित गर्ने प्रयास भइरहेको छ । 

गत असोजमा आएको बाढीले बस्तीको पूर्वदक्षिण क्षेत्रको खेतीयोग्य जमिन पुरै कटान गरेर बगरमा परिणत गरेपछि अहिले कर्णाली प्रदेश सरकारको सहयोगमा तटबन्ध गरिन लागेको हो । कर्णाली नदीको पानीको बहाव निकै बढेकाले खुलालुको खेतीयोग्य जमिन बाढीले बगाएको थियो । पूर्व दक्षिण क्षेत्रमा कर्णाली नदी र पश्चिम तिरबाट रहगाढ बग्ने भएकाले खुलालुको बस्ती निकै जोखिममा छ । 

वर्षदेखि त्यहाँ वडा नं. २ का कुमाल समुदायका नागरिक बस्दै आएका छन् । उत्पादनका हिसाबले हिउँदमा गहुँ, जौ र बर्सातको समयमा मकै, धानका साथै पछिल्लो समय तरकारी खेतीका लागि उपयुक्त क्षेत्र भएकाले नागरिक छोड्न पनि मान्दैनन् । तर बाढीको जोखिममा भने खुलालु क्षेत्र खतरामा छ । 

नरहरिनाथ गाउँपालिका वडा नं. ९ का अध्यक्ष तथा पालिका प्रवक्ता प्रदीप बाेहोराले दुवै तर्फबाट नदीले कटान गर्ने भएकाले उच्च जोखिममा रहेको स्वीकार गर्नुभयो । उहाँले बस्ती स्थानान्तरण लागि पनि धेरै अध्ययन गर्नु पर्ने भएकाले सके सम्म कुनै विकल्प खोजेर बस्ती सुरक्षित गर्ने योजना पालिकाको रहेको बताउनुभयो । उहाँले बस्ती सार्ने तर पछि थप संरचनाको विकासमा ढिलाइ हुँदा नागरिकलाई थप दुख हुने भएकाले नदी छेकबार गरेर नागरिकलाई सुरक्षित गराउने सक्ने अवस्था भएको खण्डमा सोही अनुसार भइरहेको जानकारी दिनुभयो ।

खुलालको बस्ती सुरक्षित गर्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा अहिले तटबन्ध भइरहेको अध्यक्ष बाेहोराले चालु आर्थिक वर्षका लागि त्यहाँ रह कर्णाली आधारभूत विद्यालय समेत भएकाले उसैको नाममा बजेट आएको र काम जारी रहेको जानकारी दिनुभयो । यसपालिका प्रदेश सरकारको रु. २५ लाख बजेट छ । ढुङ्गा सोही ठाउँमा भएकाले ग्याबिन र मजदुर खर्चका लागि मात्र प्रदेशको २५ लाख बजेट भएकाले पूर्व दक्षिण क्षेत्रको नदी कटान क्षेत्र सुरक्षित गर्ने काम भइरहेको बताउनुभयो । 

पछिल्लो वर्ष गाउँपालिका र प्रदेश सरकारको सहयोगमा थप बस्ती सुरक्षाका लागि तटबन्धका लागि बजेट विनियोजन हुने प्रवक्ता बाेहोराको भनाइ छ । कर्णाली कोरिडोर सँगै जोडिएकाले व्यापार व्यवसायका हिसाबले उचित क्षेत्र भएकाले नागरिक अन्त जान नमान्ने भएकाले पनि सरकारले सोही क्षेत्रलाई सुरक्षित गर्न खोजेको प्रदेश सरकारको भनाइ छ । कर्णाली प्रदेश सभा सदस्य हिकमतबहादुर विष्टले उक्त बस्ती सुरक्षाका लागि आफूले अधिकतम पहल गर्ने र बस्तीलाई सुरक्षित राख्ने बताउनुभयो । विष्ट सोही क्षेत्रबाट प्रतिनिधित्व गदै कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।