• १३ असोज २०८१, आइतबार

खाना पकाउन दाउराको प्रयोग बढी

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङका अधिकांश परिवारले खाना पकाउनमा दाउराकै प्रयोग गर्दैआएका छन् । पछिल्लो समय विद्युतको पहुँच पुगे पनि जिल्लावासीले खाना पकाउन काठ दाउराको प्रयोग गर्दैआएका हुन् । 

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार ताप्लेजुङका करिब ९० प्रतिशत परिवार (घरधुरी) ले खाना पकाउन काठ दाउराको प्रयोग गर्दैआएको पाइएको छ । जिल्लाका २७ हजार ७७६ घरधुरीमध्ये २४ हजार ६३० अर्थात् ८८.६७ प्रतिशत घरधुरी वा परिवारले खाना पकाउन दाउराको प्रयोग गर्नेगरेका छन् । 

तथ्याङ्कअनुसार १०.८२ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँसको प्रयोग गर्नेगरेका छन् । कुल घरधुरीमध्ये ग्याँस सिलिन्डर प्रयोग गर्ने तीन हजार ६ परिवार रहेका छन् । बिजुलीबाट खाना पकाउने ०.११ प्रतिशत अर्थात् हालसम्म ३२ परिवार रहेका छन् । 

खाना पकाउन बिजुलीको प्रयोग गर्नेभन्दा बढी परिवारले बायोग्याँसको प्रयोग गर्नेगरेका छन् । जनगणनाको प्रतिवेदनअनुसार जिल्लामा खाना पकाउनमा ०.१८ प्रतिशत वा ५१ परिवारले बायोग्याँसको प्रयोग गर्दैआएका छन् । गोबर गुइँठाको प्रयोग गर्ने पनि ०.०१८ प्रतिशत अर्थात् पाँच परिवार रहेका प्रतिवेदनमा उल्लेख गरिएको छ । 

बिधुतको प्रयोग गरेर खाना पकाउने परिवारको सङ्ख्या ज्यादै न्यून देखिए पनि करिब ८७ प्रतिशत घरधुरी वा परिवारमा बिद्युतको पहुँच भने पुगेको पाइएको छ । जिल्लाको कुल परिवार वा घरधुरी सङ्ख्या २७ हजार ७७६ मध्ये २४ हजार ५९ घरधुरीमा बिधुतको पहुँच उपलब्ध भएको प्रतिवेदनमा उल्लेख छ । यसरी विद्युतको पहुँच पुगे पनि अधिकांश परिवारले भान्सा कोठामा परम्परागत चुल्होमा दाउराकै प्रयोग गर्दैआइरहेका छन् ।