• ९ मंसिर २०८१, आइतबार

पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति

blog

वनकाली उद्यानको समुदघाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

उहाँले पशुपति क्षेत्र मन्दिरमा पूजा गर्न जने मात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरूको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसके धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘पशुपतिनाथ नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो । पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि महनमोहक वातावरण बगैँचामा बनाउनेगरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ । पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ ।’’

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी विशेष महत्त्वको आयोजनाका रूपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा,  आधारभूत र अत्यावश्यक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।


‘‘हरेक वर्ष मनाइने महान् पर्वहरू शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीज लगायतमा आउने भक्तहरूलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी छ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी विशेष महत्त्वको आयोजनाका रूपमा अघि बढाउँदा समेत स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभूत र अत्यावश्यक सेवासमेत व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।’’

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभई लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।