• १३ साउन २०८१, आइतबार

नाट्य प्रज्ञा प्रतिष्ठानले मनायो ६२ औँ विश्व रङ्गमञ्च दिवस

blog

काठमाडौं, चैत १३ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा ६२ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाटककार अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देशका रूपमा इजिप्टकी अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरिएको हो । 

कार्यक्रममा कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरूका बारेमा बताउनुहुँदै मौलिक कलाको प्रवर्द्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बन्धित व्यक्तिहरूसँगको अन्तर्वार्ता आर्काइभका रूपमा राख्नु पर्नेमा जोड दिनुभयो । आफूहरूसँग सङ्गीत तथा नाटकलाई गतिशील बनाउने थुप्रै योजनाहरू भएपनि बजेटको अभाव रहेको बताउनु भयो ।  

कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै आफूसँग रङ्गकर्मको ३६ वर्षको अनुभव रहेको र रङ्गमञ्चलाई प्रवर्द्धन गर्नका निम्ति माला आर्ट्स एकेडेमीमार्फत विविध गतिविधिहरू गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा डा. शिव रिजालले विश्व रङ्गमञ्च र नेपालको उल्लेखनीय भूमिका विषयमा आफ्नो भनाइ राख्दै नेपालमा रङ्गकर्मीहरूले विभिन्न नाट्य संस्था मार्फत गतिविधिलाई गतिशील बनाइरहेको अवस्थामा नाट्यकर्मी तथा रङ्गकर्मीहरूले यस क्षेत्रबाट जीविकोपार्जन भएकाले उनीहरूलाई श्रमिकका रूपमा बुझ्न ढिला गर्न नहुने बताउनुभयो । 

यस्तै, रङ्गकर्मी आकांक्ष कार्कीले नाटक सामूहिक प्रयास भएकाले सबैले आफ्नो अपनत्व हुने किसिमले यस क्षेत्रमालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति भूपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति थियो ।