• ९ मंसिर २०८१, आइतबार

देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराती

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।

काठमाडौं, चैत १३ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो। 

उहाँले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो। मन्त्री किरातीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको बताउनुभयो। 

उहाँले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताउनुभयो। मन्त्री किरातीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनको स्थान नहुँदा पछि परिरहेको बताउनुभयो। उहाँले बेरोजगार भएर मात्रै विद्यार्थी विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताउनुभयो। उहाँले विद्यार्थीलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गर्नुभयो। 

मन्त्री किरातीले भन्नुभयो, ‘‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन। १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ। अझै अर्को रहेछ। म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन। हामी युगको परीक्षा दिँदैछौँ। व्यक्तिको होइन। हामी फेल भयौँ भने युग फेल हुन्छ। व्यवस्था फेल हुन्छ। हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ। स्थानीय सोचलाई प्राथमिकता दिएनौँ। १२ कक्षा पढेपछि नेपाली विद्यार्थी विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ। हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ। स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा। शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ।’’

मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताउनुभयो।