• ४ जेठ २०८२, आइतबार

काठमाडौंमा चैत १७ देखि फूलको प्रदर्शनी हुँदै

blog

फ्लोरिकल्चर एसोसिएसन नेपालको पत्रकार सम्मेलन ।

काठमाडौं, चैत १३ गते। फ्लोरिकल्चर एसोसिएसन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ 'फ्लोरा एक्स्पो' गर्ने भएको छ। 

सोमबार एसोसिएसनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २४ औँ फ्लोरा एक्स्पो गर्न लागिएको बताउनुभयो। उहाँले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवम् परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहित ८० स्टल रहने बताउनुभयो। 

उहाँले मेलामा मौसमी फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बिउँबिजन लगायत बिक्री कक्षमा राखिने बताउनुभयो। उहाँले प्रदर्शनीमा व्यवसायीले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुरस्कारले समेत पुरस्कृत गर्ने बताउनुभयो। 

त्यस्तै, एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टल बुकिङ भएको बताउनुभयो। उहाँले प्रदर्शनीमा सरकारको कुनै पनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा पाँच हजार रुपैयाँ वृद्धि गरिएको बताउनुभयो। प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीलाई एक सय र अन्यलाई १५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ। 

प्रदर्शनीमा भारत, युरोप र चीनमा हरेक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरू आयात गरेर ल्याउने गरेको बताउनुभयो।