• २८ वैशाख २०८२, आइतबार

मुलुकको उन्नत अर्थतन्त्रका लागि निरन्तर खबरदारी गर्छौँ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल कार्यक्रममा बोल्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ५ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र उन्नत पार्न निरन्तर खबरदारी गर्ने बताउनुभएको छ । एमालेको कृषि विभागले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विकसित मुलुकमा कृषिलाई राज्यले विशेष रूपमा प्रोत्साहित गर्नेगरेको भए तापनि नेपालमा भने नेपाली किसानमाथि सबैभन्दा ज्यादा प्रहार भएको बताउनुभयो । देशभित्र रोजगारी सिर्जना गर्ने नीतितर्फ उन्मुख हुनुपर्ने, मुलुकको अर्थतन्त्रलाई उन्नत पार्न एमालेले निरन्तर खबरदारी गर्ने उहाँको भनाइ छ । 

महासचिव पोखरेलले भन्नुभयो, “देशभित्रै रोजगारी सिर्जना गर्ने नीतितर्फ, हाम्रो नेपालको राष्ट्रिय अर्थतन्त्रको आकार एवम् मुलुकको अर्थतन्त्रलाई उन्नत पार्न निरन्तर खबरदारी गर्छौँ ।”

अहिले व्यापारमा जुन असन्तुलन छ, त्यसको सन्तुलनको माध्यम सागसब्जी, तरकारी, फलफूल जतिसक्दो बढी मात्रामा उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले अफसिजनमा नेपालमा तरकारी उत्पादन गरेर चाहिँ भारतीय बजारमा पुर्‍याउन सकिने र यो उत्पादन विश्व बजारमा पुर्‍याउन सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

“नेपालमा तरकारी उत्पादन गरेर चाहिँ भारतीय बजारमा समेत पुर्‍याउन सक्ने, विश्व बजारमा पुर्‍याउन सक्ने अवस्थामा त्यो चीजलाई सरकारको तर्फबाट मत, बिउँलाई किसानलाई प्रोत्साहित गर्न । कृषि क्षेत्रलाई प्रोत्साहित गर्नजस्तो प्रकारको नीति रहेको छ, कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सक्ने अवस्थामा दुरुत्साहन गर्नेजस्तो प्रकारका नीति अगाडि बढाएको छ” उहाँले भन्नुभयो ।

यसअघि गठबन्धनको सरकारको पालामा बजेट, नीति तथा कार्यक्रम तयार गरी निश्चित व्यापारिक घरानालाई लाभ पुर्‍याइ वैदेशिक व्यापारको नीति अवलम्बन गरिएको उहाँले आरोप लगाउनुभयो । 

त्यतिखेर “खासगरी, अर्थ मन्त्रालयको बजेट निर्माणको समयमा निश्चित व्यापारिक घरानाका एजेण्डहरु बसेर, राजस्वका दरहरू हेरफेर गर्ने, भन्सार करहरू निर्धारण गर्नेसम्मका अवाञ्छित क्रियाकलापको प्रभाव नेपालको अर्थतन्त्रमा परेको छ ।”