• १२ असार २०८१, बुधबार

यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

blog

काठमाडौँ, फागुन २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले आसन्न उपराष्ट्रपतिको निर्वाचनमा यादवलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो। उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन २७ गते र निर्वाचन चैत ३ गते तय गरिएको छ। प्रवक्ता सुमनका अनुसार वर्तमान सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनमा उपराष्ट्रपति पद जसपालाई दिने समझदारी भएको उहाँको भनाइ छ। पार्टीको बैठकमा पहिलो नम्बरमा रामसहायप्रसाद यादव र दोस्रो नम्बरमा नवलकिशोर साहको नाम आएको थियो तर बैठकबाट यादवको नाममा सहमति जुटेको प्रवक्ता सुमनले जानकारी दिनुभयो।

जसपाको पूर्वमहासचिवसमेत रहनुभएका यादव सो पार्टीको संसदीय दलको नेतासमेत हुनुहुन्छ। पुस १३ गते पार्टीले उहाँलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको थियो। २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा उहाँ मधेशी जनअधिकार फोरम, नेपालबाट समानुपातिकतर्फ संविधान सभा सदस्य हुनुभएको थियो भने २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार भई बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो।

त्यसैगरी यसै वर्ष सम्पन्न निर्वाचनमा जसपाको तर्फबाट उम्मेदवार भई उहाँ बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित हुनुभएको हो। बाराको तत्कालीन कचोर्वा गाउँ पञ्चायत बसरबरिया टोलमा २०२७ साल साउन ९ गते साधारण किसान परिवारमा जन्मनुभएका नेता यादव यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो। यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। रिक्त हुने त्यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ। सप्तरी २ मा प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित हुनुभएको थियो।