• १३ असोज २०८१, आइतबार

हर्सोल्लासका साथ मनाइँदै होली, ठाउँ–ठाउँमा जोगिरा

blog

होलीपर्वको अवसरमा जोगिरा गाउँदै कलाकारहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन २३ गते । आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको जोगिरा गाउँदै यस वर्षको होली हर्षाेल्लासका साथ सुनसरीमा मनाइएको छ । होली पर्व मङ्गलबार सुनसरीकाे सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको हो ।

सदरमुकाम इनरुवाको बबिया, जल्पापुर, मधेसा, बलाहा, डुम्राहासहित रामधुनी, इटहरी, वराहक्षेत्र, दुहवी, गढी, बर्जु, देवानगञ्ज, हरिनगरा, भोक्राहा नरसिंह, कोशीसहितका स्थानमा बालबालिकादेखि युवायुवती तथा प्रौढदेखि जेष्ठ नागरिकले एकअर्कालाई रङ दलेर होली पर्व मनाइएको छ । 

इनरुवासहित कतिपय गाउँ तथा वडाको स्थानमा जोगिरा गाउँदै, बाजा बजाउँदै, होरीका गीत तथा जोगिरा गाउँदै रमाइलो र शुभकामना साटासाट गर्दै आपसी सद्भावका साथ होली मनाइएको छ ।

मानवले जस्तोसुकै रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने होलीलाई रङको पर्वको रूपमा लिने गरिएको, सोहीअनुसार उमङ्गसाथ मनाइएको इनरुवाका जोगेश्वर मेहताले बताउनुभयो ।

इनरुवामा पपुलर एफएमले आयोजना गरेको होली विशेष कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सुनसरी अध्यक्ष योगेन्द्र मण्डल पप्पुले हिन्दु संस्कृतिअनुसार होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइने र यो असत्यमाथि सत्यको विजयको रुपमा मनाउने भएकाले यसको ठूलो महत्व रहेको बताउनुभयो । 

इनरुवामा गतिशील यूवा समाजले आयोजना गरेको होली विशेष शुभकामना आदानप्रदान तथा जोगिरा कार्यक्रममा नेकपा (एमाले) का अनुशासन विभागका नेता पोष्टकुमार नेपालले हिन्दुको एउटा महत्वपूर्ण चाड भएकाले यसलाई संस्कृतिक, भाइचारा र एकताको पर्वको रुपमा मनाउने गरेको बताउनुभयो ।

एमालेका सुनसरी सचिव पशुराम यादव र नेता शत्रुघन यादवले होलीविशेष जोगिरा र होलिका दहन आकर्षक रहेको बताउनुभयो । उहाँहरुले जिल्लावासीमा होलीको शुभकामना दिनुहुँदै होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको बताउँदै होलीमा विकृति नभई एक आपसमा रङ्ग साटासाट गरेर सद्भाव बाँड्दै मनाइएको बताउनुभयो । 

गतिशील युवा समाज इनरुवाका उपाध्यक्ष प्रमोद मण्डलले होलीको मौलिक बचाउन जोगिरा गायन प्रतियोगिता आयोजना गरेको र गाउँका नागरिकलाई प्रसादस्वरुप खीर खुवाएको बताउनुभयो । समाजले आयोजना गरेको कार्यक्रममा इनरुवा –२ का वडा सदस्य वीरेन्द्रकुमार मेहताले संस्कृतिको संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।