• ८ कात्तिक २०८१, बिहिबार

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

blog

अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आउनुभएकी कतारकी राजकुमारी आश्मा अल्थानी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २२ गते । 
कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो । दानाका स्थानीयहरूले राजकुमारीसहितको टोलीलाई स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।

इलाईट ट्रेकिङ कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्यहरूसहित सिम्रिक एयरको हेलिकोप्टरमार्फत आउनुभएको थियो । आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।

“हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो, “बन्दोबन्दीका सामग्रीहरू हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीहरूले तयारी थालिसकेका छन् ।”

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालहरूको आरोहण गरिसक्नु भएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाहरूले स्वागत गरेका छन् ।

अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेको जानकारी दिनुभयो । निर्मल विश्वकै साहसिक युवा रहेको उहाँको भनाइ छ ।

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।