चित्र मिजार
सिन्धुपाल्चोक, फागुन १९ गते । इलाका प्रहरी कार्यालय बाह्रबिसे अपराध रोकथाम तथा नियन्त्रणका प्रभावकारी सावित हुँदैगएको स्थानीयले बताएका छन् । चालु आर्थिक बर्ष २०७९–८० मा ईप्रका बाह्रबिसेले सिन्धुपाल्चोक क्षेत्र १ मा बिभिन्न अपराध गरी फरार रहेका १६ जना प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेर काम गरेको स्थानीयको बुझाइ छ ।
कारागार चलान र मुद्दामा थप अनुसन्धान गरिरहेको सो इप्रकाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले पनि यो आर्थिक वर्षमा राम्रो सफलता मिलेको बताउनुभयो । मानव बेचबिखन नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण, नक्कली डलर देखाएर ठगी, डकैती, चोरी, वनजङगल फडानी गरी काठ तस्करी नियन्त्रण, बैंकिङ कसुर लगायतका अपराध नियन्त्रणमा इप्रकाले राम्रो प्रगति गरेको छ । प्रहरी कार्यालयले शान्ति सुरक्षासम्बन्धी काम समुदायस्तरमा प्रभावकारी बनाएको बुझिएको छ ।
कार्यक्षेत्र अन्तर्गतका समुदायमा पुगेर सो इप्रकाले घरेलु हिंसाबिरुद्धका सचेतना, महिला तथा बालबालिका सम्बन्धी हुने यौन दुब्र्यवहारबिरुद्ध जनचेतना, लागूऔषध, दुब्र्यसनीबिरुद्ध चेतना, बिद्यालयका छात्रछात्रालाई सचेतनाजस्ता सामाजिक बिकृति बिसंगतिबिरुद्ध सचेतना फैलाउँदै आएको छ ।
इलाका प्रहरी कार्यालयको उक्त कार्यले सिन्धुपाल्चोकबासीले शान्ति, सुरक्षाका अनुभूति महशुस गर्न थालेको बताएका छन् । प्रहरी निरीक्षक मुकेश न्यौपाने नेतृत्वको प्रहरी टोलीले अपराध रोकथाम र नियन्त्रणमा सक्रियता देखाएपछि आपराधिक गतिबिधि न्यूनिकरण हुँदै समाजमा बिकृति हटेको बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो ।
त्यसो त बाह्रबिसे नगरपालिका –४ का स्थानीय हेमन्त श्रेष्ठले इलाका प्रहरी कार्यालयको कामले क्षेत्र १ मा शान्ति सुरक्षा र अमनचयनमा प्रशंसायोग्य काम हुँदैआएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चौताराले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकमा अपराध रोकथाम र नियन्त्रण कार्यमा सबै प्रहरी कार्यालयको काम उत्कृष्ट रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेले अपराध रोकथाम र नियन्त्रणका कार्य अन्तर्गत बलेफी गाउँपालिका –८ (साविक माखा गाबिस १) का ६३ बर्षीया मनमाया नेपालीको हत्यामा संलग्न भई फरार रहेका सोही ठेगानाका ४६ बर्षीय सिताराम तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपी तिमल्सिनाले २०६१ फागुन १७ गते सामान्य बिवादका कारण मनमायालाई दाउराको चिर्पट प्रहार गरेर फरार भएका थिए । त्यसबेला मनमायाको घटनास्थलमै ज्यान गएको थियो । प्रहरी निरीक्षक न्यौपानेको नेतृत्वको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा हत्यामा संलग्न तिमल्सिनालाई बलेफी गापा ८ बाट पक्राउ गरेको हो ।
हत्या आरोपी तिमल्सिनालाई प्रहरीले आजै जिल्ला अदालत चौतारा पेशगरी सात दिनको म्याद लिई थप अनुसन्धान थालेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिनुभयो । आरोपी तिमल्सिनालाई प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको निरीक्षक न्यौपानेले बताउनुभयो ।