• ११ वैशाख २०८२, बिहिबार

जहाँ सेवाग्राही, त्यहीँ सेवा

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), फागुन १८ गते । धवलागिरि गाउँपालिका–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विकको झोलामा वडाको छापलगायत सरकारी कागजात कहिल्यै टुट्दैनन्। वडाध्यक्षले सबैको सेवा गर्नुपर्ने भएकाले नियमित रूपमा वडा कार्यालयमा बसेर सेवा दिन नसक्ने भएकाले सेवाग्राही जहाँ भेट्यो, त्यहीँ सेवा दिँदै आउनुभएको छ। 

“जहाँ सेवाग्राही भेटिन्छन्, त्यहीँ सेवा दिनुपर्दछ,” वडाध्यक्ष विकले भन्नुभयो, “बिहानी घामको किरणसँगै साँझसम्मै वडावासीको सेवामा खटिनुपर्छ। कसले कहाँ डाक्छ, कामको टुङ्गो हुँदैन।” यहाँका नागरिकले उहाँलाई सजिलो र नमुना वडाध्यक्षका रूपमा लिने गरेका छन्। 

“वडाध्यक्ष कार्यपालिका सदस्य पनि भएकाले पालिकामा हुने बैठक र कार्यक्रममा पनि पुग्नुप-यो। यता वडावासीलाई सेवा पनि दिनुप-यो,” वडाध्यक्ष विकले भन्नुभयो, “वडादेखि गाउँपालिका केन्द्र मुना पुग्न एक घण्टा लाग्छ। पालिका केन्द्रमा काम परिरहेको हुन्छ। सेवामा खटिँदा कहिलेकाहीँ त खाना खाने समय पनि हुँदैन।” 

वडाका विकास योजना कार्यान्वयनदेखि विभिन्न विषयमा सहजीकरण गर्नुपर्ने दायित्व वडाध्यक्षकै काँधमा हुन्छ। पालिकामा गठन भएका विभिन्न विषयगत समितिको संयोजकको समेत जिम्मेवारी भएकाले वडाको सेवा प्रवाहमा असहज भएको बेनी नगरपालिकाका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँ बताउनुहुन्छ। 

योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठनदेखि अनुगमन, सानातिना गाउँले विवाद मिलाउनेलगायतका सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने वडाध्यक्ष बानियाँले बताउनुभयो। 

 “वडाध्यक्षका लागि १० देखि ५ बजेसम्म हुँदैन। जसले जतिबेला पनि बोलाउँछन्, फोन आयो त कुदिहाल्नुपर्छ,” वडाध्यक्ष बानियाँले भन्नुभयो, “बिहान घरबाट निस्केको बेलुका खाना खाने समयमा बल्लतल्ल घरमा पुग्छु।” वडा सदस्यलाई पनि कामको जिम्मेवारी बाँडफाँट गरेर परिचालन गरिएको उहाँ बताउनुहुन्छ। 

“गाउँघर, टोलमा हुने स–साना विवाददेखि ठूला प्रकृतिका झमेलासम्ममा वडाध्यक्ष नै पुग्नुपर्ने हुन्छ, त्यसले गर्दा समयमै वडा कार्यालमा पुगेर सेवा प्रवाह गर्न कठिन हुन्छ,’’ वडाध्यक्ष बानियाँले थप्नुभयो, “सेवाग्राहीको फोनमा चल्नुपर्छ, कसले कहाँ बोलाउँछ, उतै दौडिने गरेको छु।”

स्थानीय सरकार सञ्चालन ऐनले वडाध्यक्षलाई वडा कार्यालय प्रमुखको जिम्मेवारी र नगर तथा गाउँ कार्यपालिकामा विषयगत समितिको संयोजक र कार्यपालिका सदस्यको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता रहेको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो। 

विभिन्न सङ्घ संस्थाका कार्यक्रममा सहभागितादेखि योजना कार्यान्वयन र सहजीकरण गर्नुपर्ने भएकाले बिहानदेखि नै कामको चाप हुने उहाँले अनुभव सुनाउनुभयो। वडाध्यक्षको नियमित कामअन्तर्गत नाता प्रमाणित, नागरिकता, जग्गा, पञ्जीकरण (जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदसम्बन्धी सिफारिस, विकास निर्माणसम्बन्धी योजना निर्माण र कार्यान्वयनमा सहजीकरणको काम वडाबाट गर्नुपर्ने ऐनमा उल्लेख छ।  बिहानदेखि बेलुकासम्मको समय व्यवस्थापन गरेर वडावासीलाई खुसी बनाउनुपर्ने बाध्यता रहेको मालिका गाउँपालिका–२, रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो। उहाँले भन्नुभयो, “कार्यालय समयमा मात्र होइन, कुनै घटना भएमा राति पनि पुग्नुपर्ने हुन्छ।” 

कहिलेकाहीँ समयमै पुग्न नसक्दा गाउँलेबाट गाली पनि खानुपरेको उहाँले दुखेसो सुनाउनुभयो। घरपरिवार र निजी जीवनशैली छाडेर सामाजिक क्षेत्रमै खटिनुपर्ने भएकाले कामको निकै चाप हुन्छ।